लगातारको बर्षाका कारण आएको बाढीपहिरो र डुवानमा परी देशका बिभिन्न भागमा गरी ७० जनाको मृत्यु भएको तथ्यांक गृहमन्त्रालयले उपलब्ध गराएको छ । बर्षाका कारण देशभरका २६ ओटा जिल्ला बाढीपहिरोको चपेटामा परेका छन् ।बाढिपहिरोमा परी हराउनेको संख्या ५० भन्दा बढि भएको गृह मन्त्रालयले जनाएको छ । यो आँकडा आईतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकमा गृहमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका हुन ।
मन्त्रिपरिषद बैठकमार्फत सरकारले बाढीपहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारलाई दुई–दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । गृह मन्त्रालयका अनुसार बाढी र पहिरोका कारण ३४ हजार घर डुबानमा परेका छन् । करिब ४ सय घर क्षतिग्रस्त छन् ।सरकारले उद्धार, पुनस्स्थापना तथा खाद्यान्न लगायत राहत वितरणका लागि आज सोमबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका सबै हेलिकप्टर भाडामा लिएर परिचालन गर्ने निर्णय समेत गरेको थियो ।
मन्त्रिपरिषद बैठकले घाइतेको तत्काल निस्शुल्क उपचार गर्ने निर्णय पनि गरेको छ । राजधानीलगायत नजिकका सहरबाट खाद्यान्न किनेर वितरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ ।बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीको एक–एक महिनाको तलब–सुविधा पीडितलाई प्रदान गर्ने निर्णय गरेको छ ।
पूर्व-पश्चिम राजमार्ग कुन-कुन ठाउँमा भत्किए पुल र सडक
दुई दिनदेखि परेको वर्षाका कारण देशका विभिन्न भागमा सवारी आवागमन ठप्प छन् । पुल र सडकहरु बाढीले बगाएसँगै विभिन्न जिल्लामा सवारी आवागमन बन्द भएको छ । कुन-कुन ठाउँमा भत्किए पुल र सडक ? सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलका अनुसार अनुसार पूर्व-पश्चिम राजमार्गको विभिन्न ठाउँमा पुल तथा सडक बाढीले बगाएको छ । तर, पानी पर्न रोकिएमा दुई दिनभित्रै सबैतिर सवारी आवागमन सुचारु गरिन सक्ने सिग्देलको भनाइ छ । पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा भने आइतबार साँझदेखि सवारी साधन आवागमन केही सहज भएको छ ।
महानिर्देशक सिग्देलका अनुसार पथ्लैयादेखि बिराटनगरसम्मको सडक धेरै ठाउँमा डुबान र कटानमा परेको छ । कारण विभिन्न ठाउँमा अहिले सवारी आवागमन हुन सकिरहेको छैन ।
सप्तरीका तीन पुलमा क्षतिः राजमार्ग अन्तरगत सप्तरी जिल्लामा पर्ने तीनवटा पुल नदीले कटान गरिरहेको छ । जनकपुरधाम नजिकैको खोलामा रहेको पुलमा पनि बाढीले क्षति पुर्याएको छ ।
महोत्तरीमा दुई पुल भत्किएः पूर्व-पश्चिम राजमार्गमा पर्ने महोत्तरीको रातु खोलाको पुल एक भागमा केही दबेको छ, जसका कारण ठूला सवारी साधनहरुको आवत-जावतमा रोक लगाइएको छ । हलुका खालका सवारी साधन भने अहिले पनि चलिरहेका छन् ।
महोत्तरीमै रहेको अर्काे भत्किएको पुल सडक विभागले मर्मत गरिरहेको छ । तर, त्यो तत्कालै सञ्चालनमा आउन सक्ने स्थिति छैन । सडक विभागको पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार त्यहाँ बेली बि्रज राखेर सञ्चालन गर्न सकिन्छ कि भनेर विभागले अध्ययन गरिरहेको छ । थापाले अनलाइनखबरसँग भने- ‘हामीसँग बेलीबि्रज स्टकमा छ, जसलाई राखेर सञ्चालन गर्न सकिन्छ कि भनेर अध्ययन गर्दैछांै ।’
बर्दीबासमा सडक भत्किँदा ट्रक फस्योः बर्दीबासदेखि ४ किलोमिटर पश्चिममा पर्ने संघार खोलामा रहेको पुलमा पानी थुनिँदा सडक कटान भएको छ । त्यहाँ सवारी आवागमन ठप्प छ । थ्ाापाले भने- ‘सो स्थानमा ट्रक खसेका कारण अहिले निकाल्ने प्रयास भइरहेको छ, पानी कम भएपछि उक्त सडक मर्मत गरेर सवारी आवागमन सुचारु गर्छाैं ।’
बर्दीबासबाट ४ किमी पश्चिममा पर्ने संघार खोलामा पनि बाढीले क्षति पुर्याएको छ ।
धन्सार र दुधौरा पुलमा क्षतिः पथ्लैयाटबाट ५ किमी पूर्वमा पर्नेे धन्सार खोलाको पुलमा पनि बाढीले क्षति पुर्याएको छ । पथ्लैयाबाट ४ किमी पूर्वमा पर्ने दुधौरा खोलाको पुलमा पनि बाढीले क्षति पुर्याएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्र्तगत मकवानपुरको ३ नम्बर पुलमा पनि क्षति पुगेको छ ।
दाउन्नेमा ४० मिटर सडक दबियोः महेन्द्र राजमार्ग अन्र्तगतको दाउन्नेमा ४० मिटर सडक पहिरोका कारण क्षतिग्रस्त भएको छ । सडक विभागले यसमा वैकल्पिक व्यवस्था गरेको छ । थापाले भने ‘दाउन्नेमा सडकको कुनापटि्टको भाग केही खनेर एकतर्फी रुपमा बाटो खोलिएको छ ।’
पाल्पा जाने बाटो बन्दः बुटवलबाट पाल्पा जाने सडक खण्डमा पर्ने सिद्धबाबामा पनि अहिले पहिरोका कारण सडक सुचारु हुन सकेको छैन ।
गरुढामा जनताले सडक भत्काएः गौर नजिकै गरुढा भन्ने ठाउँमा जनताले आफैं सडक भत्काएका छन् । सडकका कारण डुबान भएको भन्दै सडक नै काटेर स्थानीयले पानी खोलेका हुन्, जसका कारण सो क्षेत्रमा सवारी साधन आवागमन हुन सकेको छैन ।
दाङको घोराहीदेखि तुल्सीपुर सडक खण्डमा पर्ने मोतिपुरमा पनि पुलमा क्षति पुगेको छ । त्यहाँ सवारी आवागमन हुन सकिरहेको छैन । उक्त स्थानमा बैकल्पिक व्यवस्था गरी सवारी आवागमन सुचारु गर्ने तयारी भइहेको उपमहानिर्देशक थापा बताउँछन् ।
बाँकेको अगैया खोलाको पुल नदीले कटान गरिरहेको छ ।
पश्चिमको बैतडीदेखि दार्चुला सडक खण्ड पनि अहिले बन्द छ ।
त्यसैगरी पूर्वमा धरानबाट धनकुटा जाने सडक कटानमा परेको छ । धरानको फुस्रे नजिकै सडक कडान हुँदा आवागमन रोकिएको छ । मोरङ र झापाका विभिन्न ठाउँमा केही खोलामा कल्भर्टहरु बगेका छन् ।
Leave a Reply