मेजनको नयाँ किताब बजारमा

टुडे पोखरा संवाददाता
0Shares

छवि मगर

पोखरा–मेकबहादुर पुन(मेजन) को नयाँ किताब ‘धौलागिरिमा बसोबास गर्ने पुन समुदाय एक अध्ययन’ बजारमा आएको छ ।
पोखरा न्यूरोडस्थित स्माइल क्याफेमा औपचारिक कार्यक्रम बिना किताब बजारमा ल्याइएको हो । ‘आफ्नो पुस्तक आफै खोल्नुहोस्’ भन्ने नारा दिएर किताब सार्वजनिकीकरण गरिएको थियो ।
कार्यक्रममा सहभागीले आआफ्नो हातमा किताब लिएर लेखक मेजनलाई किताबको रकम हस्तान्तरण गर्दै गरेपछि किताब बजारमा आएको घोषणा गरिएको थियो ।
चर्चित किताब ‘भर्तीको फन्दा’ का लेखक तथा पत्रकार मनोज घर्तीमगरले सबैभन्दा पहिले किताब खोलेर लेखक मेजनलाई किताबको रकम हस्तान्तरण गरेर किताब सार्वजनिकीकरणको सुरुवात गरेका थिए ।
लेखक घर्तीमगरले मगर समुदायका मुद्दालाई लिपिबद्ध गर्ने लेखकहरु निकै कम भएका बेला मेजनले गरेको कामको प्रशंसा गरे । उनले किताबले पुन समुदायसँग सम्बन्धित विभिन्न विवादलाई राम्रोसँग केलाएकाले अनुसन्धान गर्ने नयाँ पुस्तालाई फलदायी हुने बताए । ‘यस्ता अनुसन्धानमुलक किताबहरु अझ धेरै आउन जरुरी छ’ उनले भने,‘फिल्म, डकुमेन्ट्री निर्माणसँग सँगै लेखनमा मेजनले गरेको काम सराहनिय छ ।’
किताबको आवरण स्केच गरेका कलाकार जय पुनले समुदायसँग सम्बन्धित यति गहन किताब लेखिनु प्रशंसनीय काम भएको बताए । लेखक मेकबहादुर पुन मेजनले करबाकेली सम्बन्धी सोधखोज गर्ने क्रममा धौलागिरिमा हिंडडुल गर्दा बुझेको समाज र केही बिश्लेषण गरि किताब लेखेको सुनाए । ‘यद्यपी यो नै अन्त्य होइन, अध्ययन र सोधखोजको अझै आवश्यकता छ । पुस्तक प्रकाशन गर्न मलाई धेरै सकस भएको छ । यो मेरै समाजको कारणले गर्दा भएको हो’ उनले भने,‘ कसैले यसो लेख्नु परयो भनेर मैले त्यहि अनुरुप लेख्ने काम गरिन । म गलत छु भने तर्क सहित सुझावहरु पाउँ ।’ उनले अध्ययन गर्ने र गराउने बानी बसाल्न सबैलाई आग्रह समेत गरे ।
विभिन्न १३ खण्डमा विभाजन गरि लेखिएको किताब ३ सय ३७ पेजको रहेको छ भने ३ सय २५ रुपैंया यसको मुल्य रहेको छ ।