मुख्य न्यायधिवक्ताको काम सम्बन्धी विधेयक प्रमाणिकरण

टुडे पोखरा संवाददाता
0Shares

गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेको ‘मुख्य न्यायधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रमाणिकरण गरेका छन् ।

प्रदेश सभाले साउन ३१ गते पारित गरेको उक्त विधेयक प्रदेश प्रमुख कुवँरले विहिबार प्रमाणिकरण गरेका हुन् । प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई नेपालको संविधान धारा २०१ को उपधारा १ बमोजिम गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले भदौ ५ गते प्रमाणित गरेका थिए ।

सभामुखले प्रमाणित गरेपछि प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । प्रदेश प्रमुख कुँवरले पाउने बित्तिकै विहीबार नै उक्त विधेयकको पाँच प्रतिमा हस्ताक्षर गरि प्रमाणिकरण गरेका थिए ।

नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेशश प्रमुखले विधेयक प्रमाणिकरण गर्नुपर्ने प्रावधान रहेको छ । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि यो विधेयक ऐन बन्छ ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयका कानून अधिकृत अनम सुवेदीले प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेको विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश सभाको सचिवालय र संघिय कानून तथा संसदिय व्यवस्था मन्त्रालयमा एक÷एक प्रति विहीबार नै पठाइएको जानकारी दिए ।