मर्दी खोला किनारका बासिन्दाले नदी कटान नरोके पानी नदिने

Today Pokhara
0Shares

मर्दी खोला किनारका बासिन्दाले नदी कटान नरोके खानेपानी नदिने चेतावनी दिएका छन् । जिल्ला विकास समिति कास्कीले रिभानमा आयोजना गरेको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले नदीमा तटबन्ध गरेर मात्रै पानी लैजान माग गरेका हुन् । तटबन्ध नगरी जथाभावी खोला खोल्दा बस्ती नै जोखिममा परेको उनीहरुको गुनासो छ । ल्वाङघलेलका स्थानीय राम गुरुङले तत्काल बलियो तटबन्ध निर्माण कार्य सुरु गर्ने प्रक्रिया अघि बढाउन आग्रह गरे । ‘बर्खाको बाढीले बर्षेनी खोलाको आकार बढ्दै गएको छ । खोलो बस्ती नजिक पुगिसक्यो, उनले भने–यो क्रम तत्काल रोकिएन भने ठूलो धनजनको क्षति हुन सक्छ । बेलैमा योजना बनाएर काम गर्नुपर्छ ।’ लाहाचोकका स्थानीय नारायण अधिकारीले नदी संरक्षण र कटान नियन्त्रणमा जिल्ला विकास समितिले खासै चासो नदिएको गुनासो गरे ।

गुनासोको सुनुवाई गर्दै निमित्त स्थानीय विकास अधिकारी नारायण प्रसाद बरालले खानेपानी संस्थान मार्फत जाईकाले ठूलो बजेट खर्च गर्ने तयारी गरिरहेको भन्दै आवश्यक समन्वयका लागि तयार रहेको प्रतिबद्धता जनाए । उनले जिल्ला भू संरक्षण कार्यालय र खानेपानी संस्थानलाई तत्काल काम गर्न अनुरोध गर्ने जानकारी दिए । कार्यक्रमका सहभागीहरुले लक्षित बर्ग कार्यक्रम प्रभावकारी हुन नसकेको, इलाका तहबाट छनौट भएका योजना प्राथमिकतामा नपरेको, कृषि तथा भेटेरीनरीका कर्मचारीहरुले राम्रो सेवा नदिएका लगाएतका गुनासो गरे । रिभानकी बिष्णुमाया लामिछानेले महिलालाई उपभोक्ता समितिमा सहभागी गराएपनि निर्णय प्रक्रियामा सहभागी नगराएको बताईन् । ‘हामीलाई कोषाध्यक्ष, सचिव बनाउँछन् । पैसाजति पुरुषहरुले कसरी कहाँ खर्च गर्छन् हामीलाई थाहै हुँदैन, उनले भनिन्–महिलालाई देखाएर पुरुषहरुले बजेटमा मनपरि गरेका छन् । यसको अनुगमन गरियोस् ।’
स्थानीय शिव प्रसाद भुषालले योजना सञ्चालन गर्दा प्राविधिकहरुले दुख दिने गरेको बताए । जवाफमा निमित्त स्थानीय विकास अधिकारी बरालले नियतबश प्राविधिकहरुले पैसा मागेर दुख दिन खोजे आँफुलाई उजुरी गर्न आग्रह गर्दै त्यस्तो गरेको भेटिए कानुन अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाए । उनले इलाका तहको योजनालाई नै प्राथमिकताका साथ कार्यान्वयन गरेको स्पष्ट पारे । सामाजिक विकास अधिकृत अर्जुन नेउपानेले लक्षित बर्ग तर्फको बजेट सानो आकारको भएकाले सोचेजस्तो योजना र कार्यक्रम सञ्चालन गर्न नसकिएको बताए । उनले आगामी दिनमा देखिने गरी कार्यक्रम गर्ने प्रतिबद्धता पनि जनाए । बरिष्ठ कृषि विकास अधिकृत लोकेन्द्र बोहराले थोरै प्राविधिकले धेरै क्षेत्र हेर्नुपर्ने भएकाले समस्या भएको भन्दै आवश्यक समन्वयका लागि पहल गर्ने बताए ।
जिल्ला विकास समितिले हरेक चौमासिक रुपमा सार्वजनिक सुनुवाई गर्नुपर्ने प्राबधान छ । कार्यक्रमको सहजीकरण पत्रकार प्रकाश ढकालले गरेका थिए भने हिमाली आवाज साप्ताहिक पत्रिकाले ब्यवस्थापन गरेको थियो । कार्यक्रममा रिभानसँगै, लाहाचोक, घाचोक, ल्वाङघलेल र धितालका सेवाग्राही, राजनीतिक दलका प्रमुख प्रतिनिधी, नागरिक समाजको उपस्थिती थियो ।