रूद्र श्रीसमगर
नेपाल मगर संघ कास्कीले जिल्ला अन्तर्गत रहेको विभिन्न एकाइ समितिका सचिव र कोषाध्यक्षहरूका लागि एक दिवसीय सांगठनिक नेतृत्व विकास तथा लेखा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । एकाइ सचिव र कोषाध्यक्षहरूको क्षमता अभिवृद्धिका लागि सोमबार तालिमको आयोजना गरिएको अध्यक्ष पूर्णबहादुर रानामगरले जानकारी दिनुभयो । ‘मगर जातिको नेतृत्व गर्न स्थानीय तहबाटै सशक्तिकरण हुनु आवश्यक छ’, रानामगरले भन्नुभयो, ‘हाम्रा सचिव र कोषाध्यक्षहरूलाई दक्ष बनाउन यो तालिमको आयोजना गरिएको हो ।
तालिममा अधिवक्ता सुरेन्द्र थापामगरले सहजीकरण गर्नुभएको थियो । नेपाल मगर संघका पूर्व महासचिव समेत रहेका अधिवक्ता थापामगरले नेपाल मगर संघको सांगठनिक पद्धति, कार्यक्रम सञ्चालन प्रक्रिया र लेखा व्यवस्थापनबारे संघका एकाइ सचिव र कोषाध्यक्षहरूलाई अभिमुखीकरण गरेका थिए । तालिममा ७० जना प्रशिक्षार्थीहरू सहभागी थिए । तालिमका प्रशिक्षार्थीहरूले तालिम निकै उपलब्धीमूलक भएको बताएको संघका जिल्ला सचिव यामबहादुर थापामगरले जानकारी दिए ।
Leave a Reply