गाँउपालिकाबाट संचालन हुने लक्षीत बर्गका कार्यक्रमलाई आगामी दिनमा प्रभावकारी बनाउन माग अनुसार बजेट बिनीयोजन गरी लक्षीत बर्गको प्रत्यक्ष सहभागितामा कार्यक्रम गर्ने लगायतका पाँच बुदे सार्वजनिक प्रतिबद्धताको घोषणा गर्दै बैजनाथ गाँउपालिका वडा नं. ५ को सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ ।
बैजनाथ गाँउपालिका वडा नं. ५ को आयोजना तथा बास नेपालगन्जको सहजिकरणमा बैजनाथ गाँउपालिकामा सम्पन्न सुनुवाईमा गरिएका अन्य प्रतिबद्धताहरुमा वडाबाट संचालन हुने कार्यक्रम र प्रवाह गर्ने सेवा सुविधा आम नागरिकलाई जानकारी हुनेगरी प्रभावकारी ढंगले संचालन गर्ने, गाँउपालिका र वडा कार्यालयको पार्किङ्गलाई ब्यवस्थित गर्नुका साथै प्रतिक्षालय निर्माण गर्ने, वडा भित्र रहेका बालविकास केन्द्रहरुको प्रर्बद्धन तथा विकासको लागि आगामी आर्थिक बर्षमा प्राथमिकता दिने र वडा कार्यालयले प्रवाह गर्ने सेवा र सुविधालाई चुस्त दुरुस्त बनाउने प्रतिबद्धता गरिएको छ ।
सुनुवाईमा उपस्थित सहभागिहरुले सोधेको प्रश्नको जवाफ सुनुवाईमा सरोकारवालाको रुपमा आसिन गाँउपालिका अध्यक्ष मान बहादुर रुचाल, वडा अध्यक्ष मन बहादुर खत्री, गाँउ कार्यपालिका सदस्य तथा पदाधिकारीहरुले दिएका थिए । बासका प्रदेश ५ का संयोजक खुमेस सुबेदीले सहजिकरण गरेको सुनुवाईमा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकास बासका केन्द्रीय अध्यक्ष मन भण्डारीले गरेका थिए । सुनुवाईमा एक सय बढीको सहभागिता रहेको थियो ।
हेमराज भट्ट
सुचना अधिकारी, बास
Leave a Reply