प्रगतिशिल महिला समूहलाई उद्घोषण तालिम

0Shares

पोखरा लेखनाथ महानगरपालिका वडा नं ३० ढुंगेपाटन स्थित प्रगतिशिल महिला समूहका सदस्यहरुले प्रभावकारी भाषण एवं उद्घोषण तालिम लिएका छन ।यहि बैसाख ८, ९ र १० गते गरी तीन दिन सम्म चलेको तलिम समापनका अवसरमा समूहको भवनमा आईतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केन्द्रिय बाल कल्याण समितिका सदस्य तथा थ्रि एन्जल्स नेपालका प्रमुख कार्यकारी निर्देशक डा.राजेन्द्र गौतमले बोल्नेको पीठो विक्ने तर नबोल्नेको चामल पनि नविक्ने परिपाटी कायम रहेको अवस्थामा तालिमले सहि समयमा सहि शब्द चयन गरी बोल्न सजिलो हुने विश्वास व्यक्त गरे । “कहिलेकाँही सहि समयमा गलत शब्द र गलत समयमा सहि शब्दको प्रयोग हुन सक्छ” यस्तो समस्या हटाउन तालिमले भूमिका खेल्ने उहाँको भनाई थियो ।

स्थानीय निर्वाचन नजिकिँदै गएको प्रसंग औँल्याउँदै डा गौतमले निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नेलाई किमार्थ माफि दिन नसकिने बताउनुभयो । “कसैले निर्वाचन प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको पाईएमा निजको उम्मेदवारी नै खारेज सम्म हुन सक्छ ” उहाँले भन्नुभयो । अधिकार मागेर नभई खोसेर लिनुपर्ने भएपनि  अधिकार माग्दा सभ्यता आवस्यक हुने उहाँको धारणा छ । महिलाको शसक्तिकरण गर्दै मानव बेचविखन अन्त्य गर्ने मूल लक्ष्यका साथ अगाडी बढेको थ्रि एन्जल्सले आगामी दिनमा पनि यस किसिमका तालिम प्रदान गर्ने डा गौतमले बताए । सो अवसरमा प्रशिक्षार्थीहरु पुष्पा पुन र मायाँ अधिकारीले तालिमले बोल्ने कलामा निकै सुधार आएको विचार व्यक्त गरे ।

पोखराको नयाँगाउँमा रहेको थ्रि एन्जल्स नेपाल र थ्रि एन्जल्स रेडियोको सहयोगमा समूहमा आवद्ध करिब ३० जना महिलाहरुले प्रभावकारी भाषण, उद्घोषण एवं मानव बेचविखन विरुद्धको सचेतनाका विषयमा तालिम लिएका हुन् । तालिममा प्रशिक्षक एवं पत्रकार जीवन सुवेदी, प्रकाश अधिकारी र आशा कुँवरले सहजिकरण गरेका थिए । कार्यक्रममा विशेष अतिथि तथा थ्रि एन्जल्स रेडियोका स्टेशन म्यानेजर गणेश कुमार श्रेष्ठको पनि सहभागिता थियो । समूहका अध्यक्ष मधुमायाँ बास्तोलाको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन सचिव अम्बीका भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *