छवि मगर
पोखरा, २९ कात्तिक । ‘पुरानो डुङ्गा’ फिल्मको प्रचार गर्दै देश दौडाहमा हिडेको टोली पोखरा आइ पुगेको छ । विर्तामोडबाट प्रचार सुरु गरेको टोली चितवन हुँदै आइतबार पोखरा आएको हो । सर्बाधिक चलेका फिल्म ‘कबड्डी’, ‘कबड्डी कबड्डी’ जस्ता फिल्मको निर्देशन गरिसकेका रामबाबु गुरुङसहितको टोली फिल्मको प्रचारमा देश दौडाहमा छ । फिल्मका कथाकार एवं कलाकार माओत्से गुरुङले फिल्ममा माझी दाजुभाइबीच अंशबण्डाले निम्त्याउने पारिवारिक बिखण्डन नै मुख्य विषयवस्तु भएको बताए ।
कलाकार दयाहाङ राईले समाजको यथार्थपरक र सँधै देखिभोगी आएको कथालाई फिल्ममा उतारिएकाले हेर्न लायक बनेको बताए । पुख्र्यौली सम्पति डुङंगालाई जीविकोपार्जनको आधार र त्यसपछि उत्पन्न हुने घटनाक्रम फिल्ममा देख्न पाइने उनले बताए ।
फिल्ममा १ करोड १० लाख लगानी रहेको निर्देशक रामबाबु गुरुङले जानकारी दिए । सिनेमा आर्ट र माओत्से गुरुङ फिल्मको प्रस्तुति रहेको उक्त फिल्मको ‘निर कहिले रिसाउने’ बोलको गीत अहिले सर्वाधिक हिट गीत हो । जसको संगीत कालिप्रसाद बास्कोटाले गरेका हुन् ।
फिल्ममा माओत्से गुरुङ, दयाहाङ राई, प्रियंका कार्की, मेनुका प्रधान, बुद्धि तामाङ, धनबहादुर गुरुङ, सजन थापा, नौजङ गुरुङ, विश्वास गुरुङ र पूर्णिमा गुरुङको अभिनय रहेको छ । रौनक विक्रम कँडेल, ओमचन्द्र रौनियार र धनबहादुर गुरुङ फिल्मका निर्माता हुन् । फिल्मको सम्पादन निमेश श्रेष्ठ, सिनेमेटोग्राफर शैलेन्द्र डि. कार्की, लेखक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको रहेको छ ।
Leave a Reply