पोखरा अर्मलाको बास्केटबल कोर्ट समुदायलाई हस्तान्तरण

टुडे पोखरा संवाददाता
0Shares

 

पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ स्थित अर्मल कोटमा नव निर्मित बास्केटबल कोर्ट समुदायलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तथा नेपाल बास्केटबल संघका अध्यक्ष टेण्डी लामा शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा उक्त बास्केटबल कोर्ट समुदायलाई हस्तान्तरण गरिएको हो ।
समुद्री सतह भन्दा करिव १ हजार ५ सय उचाइमा अवस्थित अर्मला कोट पोखराकै सुन्दर एवम मनोमोहक गुरुङ समुदायको बस्ती हो । अर्मला कोर्टमा निर्मित उक्त बास्केटबल कोर्ट पोखरा लेखनाथ महानगर पालिकाको उच्च स्थानमा निर्माण गर्न अर्मला निवासी ब्रिटिश सेनाका सेवानिवृत डव्लु ओ वान जित बहादुर गुरुङको ठूलो देन रहेको छ ।
२०७१ सालमा करिब ४ रोपनी जग्गामा फैलिएको उक्त बास्केटबल कोर्ट निर्माण गर्न जित बहादुरले ४ लाखमा जग्गा किनेर सुरु गरेका थिए । परापूर्व काल देखि श्रीपंचमी मेला समेत लाग्ने गरेको उक्त गाँउमा मनोरंजन गर्ने स्थानका समेत नहुँदा जितबहादुरले गाँउका समाजसेवीहरु संग मिलेर यो कार्यको सुरु गरेको बास्केटबल संघका उपाध्यक्ष एवम अर्मला निवासी जुम प्रसाद गुरुङले बताए । जुम गुरुङका परिवारले पनि उक्त स्थानमा रहेको १९ आना जग्गा खेल मैदानका लागि दान गरेका छन ।
मैदान निर्माण गर्न अर्मला निवासी हाल युकेमा कार्यरतहरुले अर्मला भाइ खलक संस्थाका माध्यम बाट करिव ३६ लाख रुपैयाँ पठाएको जुम गुरुङले बताए । जित बहादुरले मात्रै करिब १७ लाख रुपैयाँ मैदान निर्माण प्यारापिट निर्माणका लागि खर्च गरेका छन । उनले आफ्नो बुवा टंक प्रसाद गुरुङको स्मृतीमा करिव ५ लाख ५० हजार खर्चेर प्यारापिट समेत निर्माण गरिदिएका छन ।
गाँउका काजी खलक चेली बेटी समाजले पनि एक लाख प्रदान गरेका छन । ‘उक्त जग्गा हामीले नजिकैको रहेको विद्यालय सिता आधारभुतको नाममा दिएका छौं’ निर्माण समितीका अध्यक्ष समेत रहेका गुरुङले भने । जग्गा सहित सम्पुर्ण खर्च ५३ लाख ५० हजार भएको गुरुङले बताए ।
उक्त मैदानको हस्तान्तरण कार्यक्रममा पुगेका उपाध्यक्ष शेर्पाले अर्मलका समुदायले विदेशमा बसेर भए पनि गाँउ सम्झेर खेलकुद बिकासमा गरेको लगानी महत्वपूर्ण रहेको बताए । उनले पोखराकै मनमोहक र रमणिय स्थानमा निर्माण गरिएको बास्केटबल कोर्टलाई थप विस्तारका लागि राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा कोर्ट निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।
बास्केटबल कोर्टलाई उपाध्यक्ष शेर्पा र डव्लु ओ वान जित बहादुर गुरुङकी वयोवृद्ध ८९ वर्षिय आमा मुङ्गा गुरुङले बास्केटबल कोर्टको शंयुक्त रुपमा उद्घाटन गरेका थिए । उक्त कोर्ट निर्माणका लागि लगानी गने जित बहादुर गुरुङ र अर्मला युके भाइ खलकका शेरा गुरुङले शंयुक्त रुपमा विद्यालय, क्लव र आमा समुहलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ, पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ का अध्यक्ष जिवन आचार्य लगाएतले बोलेका थिए । कार्यक्रम सिता आधारभुत विद्यालयका अध्यक्ष भुपाल सिंह गुरुङको अध्यक्षतामा भएको थियो ।