पोखरामा हेयर एन्ड स्किन सेमिनार

नेपाल नाई संघमा आवद्ध मजदुरलाई हेयर एन्ड स्किन बारेमा जानकारी दिन सेमिनार आयोजना गरिएको छ । करिव ३ सय ८० जना मजदुर सहभागी सेमिनारको उद्घाटन गर्दै नेपाली कांग्रेसका पूर्व आमन्त्रित सदस्य रामजी कुँवरले सैलुनलाई समयानुकुल परिमार्जन गरिनुपर्नेमा जोड दिए । नेता कुँवरले महंगी बढेसँगै सैलुनमा कार्यरत मजदुरको भविष्य र आम्दानीमा हेरफेर गरिनुपर्नेमा जोड दिँदै सेमिनारबाट सिकेको सीपलाई व्यवहारमा उतार्न अनुरोध गरे । नेता कुँवरले रहरले मजदुर विदेश नगएको भन्दै सरकारले स्वरोजगार प्राप्त मजदुरलाई निरुत्साहित बनाउने काम गरेकोमा आपत्ति जनाए ।
नाई संघ कास्कीका अध्यक्ष विगुलाल ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति कृष्णबहादुर केसीले केमिकल तथा सौन्दर्य केन्द्रित विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । सभापति केसीले स्वतन्त्र पेसामाथि सरकारले अंकुश लगाएकोमा चिन्ता व्यक्त गर्दै नाई अगुवालाई संगठनमा खारिँदै पार्टी भित्र जुधेर, डटेर र संघर्ष गरेरै स्थापित हुनेमा जोड दिए । नेपाल नाई संघका जिल्ला सचिव आदेश ठाकुर र दीपक ठाकुरको सञ्चालन र बलिराम ठाकुरको स्वागतमा भएको कार्यक्रममा नेपाल नाई संघका वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरले न्यू लुक्स प्रालिले दिएको प्रशिक्षण फलदायि भएको बताए । उनले प्रशिक्षणले व्यवसायमा निखारपन ल्याउन सहयोग पुग्ने भन्दै आगामी दिनमा रचनात्ममक तालिम दिँदै लगिने बताए । सेमिनार उद्घाटन सत्रमा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले सिकेको सीपलाई व्यवहारमा उतार्न अनुरोध गर्दै परिणाममुखी बनाउन सुझाव दिए । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य जीतबहादुर गुरुङले उपभोक्तसँग अनुशासित भई पेसाको मर्यादालाई बचाउन नाई मजदुरले पहल गर्नुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य रस्सा गुरुङले पेसालाई सुरक्षित, मर्यादित र सम्मानित बनाउन ट्रेड युनियन कांग्रेस सधै लागिपरेको जानकारी दिँदै शारीरिक र मानसिक पेसाकर्मीले मिलेर अधिकार खोज्नु पर्ने समय आएको बताइन् । उनले डाक्टर पनि मजदुर भएको भन्दै नाईपनि डाक्टर सरह नै भएको प्रतिक्रिया दिइन् । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला अध्यक्ष विजयराज भण्डारीले नाई संघ कास्कीलाई नेतृत्व तथा रचनात्मक कार्यमा पूर्ण सहयोग गर्ने उल्लेख गरेका थिए । कार्यक्रममा ओविसी राष्ट्रिय महासंघका अध्यक्ष गजेन्द्र ठाकुरले नाईलाई समाजमा हेर्ने दृष्टिकोणमा सुधार नभएको भन्दै आगामी दिनमा त्यसो भए सहेर नवस्ने धारणा राखे । न्यू लुक कम्पनीका प्रतिनिधि सिर्जना थापाले प्रशिक्षण दिँदै स्किन हेयरको वेसिक नलेज सबैले लिनुपर्नेमा जोड दिइन् । उनले स्वास्थ्यसँग सरोकार राख्ने हुनाले सौन्दर्यसँग मिल्ने सबै पेसाकर्मी एक हुनुपर्नेमा जोड दिइन् । थापाले सेमिनारबाट व्यवसायको अभिवृद्धिमा टेवा पु¥याउन सहयोग पुग्ने भन्दै दैनिक मानव जीवनमा प्रयोग हुने केमिकल, कलर, कस्मेटिकमा विशेष ध्यान दिन नाई पेसाकर्मीलाई अनुरोध गरिन् ।