पोखरामा ट्राफिक सप्ताह सम्पन्न

Today Pokhara
0Shares

पोखराप्लस संवादाता

पोखरा, मंसिर

नेपाल रेडक्रस सोसाईटी कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त आयोजनामा पोखरामा ट्राफिक सप्ताह सम्पन्न भएको. छ । शनिवार सप्ताहको समापन गर्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्यालले सप्ताहव्यापी मनाइएको कार्यक्रमलाई पद्धतीकोरुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘एक हप्ताभर विभिन्न कार्यक्रम भए तर यसलाई कार्यान्वयन नगर्ने र पद्धतीको विकास नगर्ने हो भने उपलब्धी हुन सक्दैन ।’ उहाँले पोखरामा ट्राफिक चुनौती बढ्दै गएको बताउदै सरोकारवालाको समन्वय हुनुपर्ने उल्लेख गरे ।2

 

पोखरा उपमहानगरपालिकाका इन्जिनियर सुरेन्द्र पौडेलले पोखराको ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य गरेर कार्य गरिरहेको बताउनुभयो । रेडक्रस कास्कीका उपसभापति डोलराज पाण्डेले प्रहरीले जनतासँग हाड नाताको सम्बन्ध कायम गरि अघि बढ्नुपर्ने बताए ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक विश्वराज अधिकारीले बढ्दै गएको सवारी दुर्घटना न्यूनिकरण गर्नको लागि ट्राफिक सप्ताह महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सवारी चालकलाई सचेत गराउदै सडक प्रयोगकर्तालाई सचेतना दिलाउन पनि सप्ताहको आयोजना गरिएको जानकारी दिनुभयो । नेपालमा दैनिक ५ देखि ७ जनाले सवारी दुर्घटनाका कारण ज्यान गुमाउने गरेको तथ्यांक छ ।
रेडक्रस कास्कीका सभापति बामदेव ढुङ्गानाको सभापतित्वमा भएको कार्यक्रममा मन्त्री कृष्ण तिमिल्सीनाले सञ्चालन गर्नुभएको थियो । कार्यक्रम अन्र्तगत सडक सुरक्षामा सडक प्रयोगककर्ताको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा सैनिक महाविद्यालयका सागर न्यौपाने प्रथम, अमरसिंह उच्च माविकी प्रकृति रेग्मी द्धितीय, भाष्कर मेमोरियलकी सन्ध्या बास्तोला तृतीय र बाराही माविका अन्जु दाहाल सान्त्वना हुन सफल भएका छन् ।

चित्रकला प्रतियोगितामा सृजना आवासीय माविकी कल्पना थापा प्रथम, कास्की मोर्डनाइज्डकी इच्छा गुरुङ द्धितीय, बाराही माविका विशाल गुरुङ तृतीय र सैनिक आवासीय माविका सुवास श्रेष्ठ सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ३ हजार, द्धितीयले २ हजार, तृतीले १ हजार र सान्त्वनाले ५ सय रुपैया प्राप्त गरे । सोहि अवसरमा सप्ताहको अवसरमा सहयोग गर्ने विभिनन्न संघसंस्था र उपशाखाहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । सप्ताहव्यापी कार्यक्रममा हप्ताभर विभिन्न सचेतनामुलक कार्यक्रम गरिएको थियो ।