पोखरामा गजलको मेहफिल

गजलकार कपिल शर्माले गजलका शेर सुनाउँदा कार्यक्रम हल तालीले गुञ्जियो । गजल सुनाउन मञ्चमा उभिएका उनले मान्छेको बद्लिरहने मन र चर्चाका लागि जोडिने अहिलेका सम्बन्धप्रति ब्यङ्ग्य गर्दै गजलका शेर सुनाउँदा पोखरेली गजलपारखीले तालीले साथ दिए । उनले सामाजिक विसंगति, कुरिती, आधुनिक मायाप्रेमको शैली, राजनीतिक चरित्रमाथि व्यङ्ग्य गर्दै लगातार पाँच गजल सुनाए ।कपिलपछि विशेष गजलकारकै रुपमा गजल सुनाउन मञ्चमा उभिएका ईश्वरमणि अधिकारीले पनि प्रणय भाव, सामाजिक तथा राजनीतिक व्यङ्ग्यलाई प्रस्तुत गरे । चकचके विद्यार्थीको स्वाभावलाई गजलका शेरमार्फत राजनीतिक नेता बन्ने गुण उसमा देखिएको सुनाउँदा उनले गजलपारखीको ताली खाए ।

५० को दशकदेखि नै गजल लेखनमा सक्रिय अधिकारीले विशेष पाँच गजललाई दर्शकले हौसला बढाए । शनिबार यस्तै गजलले पोखरामा गजलको मेहफिल जमेको छ । गजल सन्ध्या पोखराले प्रत्येक महिनाको दोस्रो शनिबार गर्दै आएको गजल वाचनको नियमित शृंखलाको १ सय ७० औं कार्यक्रमलाई विशेष बनाएको हो । सन्ध्याले २ जना गजलकारलाई विशेष गजल वाचकसँगै अन्य १० जनालाई विषेश कार्यक्रममा जोडेको थियो ।
‘गजल सन्ध्या पोखराले गर्दै आएको नियमित शृंखलालाई केही विशेष बनाउने र गजललाई आममान्छेसँग जोड्दै लैजानका लागि यो अभियान थालेको हो,’ सन्ध्याका अध्यक्ष अमृत सुवेदीले भने, ‘अबदेखि विशेष रुपमा पोखरा र पोखराबाहिरका गजलकारलाई यसरी मञ्चमा उभ्याउँदै लैजाने छौं भने नयाँपुराना सबै गजलकारलाई समेट्न विभिन्न खुल्ला शृंखलाहरु पनि सञ्चालन गरिने छ ।’ धेरै जना राम्रा गजल लेख्ने गजलकार भए पनि यो शृंखलामा १२ जनालाई मात्र समेट्न सकिएको र आगामी शृंखलामा विशेष र खुल्ला गरी सबैलाई समेट्दै लैजाने उनले बताए ।

गजल वाचनका लागि उभिएका पोखराका पुराना गजलकार दीपक समीपले कार्यक्रममा वाहवाही पाए । सन्ध्याका पूर्व अध्यक्षसमेत रहेका उनले गजलमा गजल पारखीको माया र हौसला दुबै पाए । सन्ध्याका पूर्व अध्यक्षसमेत रहेका गजलकार उदीपराज ढुंगानाको गजलले पनि सुनाउँदा पनि उस्तै साथ र माया पाए । कार्यक्रममा गजलकार आवाज शर्माले तरंगम शैलीमा गजल गाउँदा कार्यक्रम साँगेतिक बन्यो । गजलकार प्रञ्जलबाट सुरु गजल वाचन ईश्वरमणिमा पुगेर सकिएको थियो । गजलकार सञ्जीव पौडेल, बिर्सना बस्नेत, भरत पौडेल, साधुराम लामिछाने, सुरज गुरुङ र तनहुँका गजलकार तीर्थमान अथाहसागरले प्रणय भावदेखि विभिन्न विषयका गजल सुनाए ।

सन्ध्याले ‘गजलको उत्थानः हाम्रो अभियान’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै गजलको उन्नयन र विकाससँगै जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा नाम दिएर नियमित अक्षरयात्रा कार्यक्रम गर्दै आएको छ । महिनाको तेस्रो शनिबार देशका विभिन्न ठाउँमा पुगेर कविता, गजल मुक्तक लगायत तद्स्थानीय साहित्यिक सिर्जना गर्ने विशेष कार्यक्रम अक्षरयात्राको साउने शृंखला माग्दीको गलेश्वर धाममा हुन लागेको सचिव वसन्त विनोदले जानकारी दिए ।