पेन्सन पेइङ अफिसले भारतको कानुन नमान्दा दुःख पाएको भूपू गोर्खाको गुनासो

छबि मगर
पोखरा, १७ कात्तिक

भारतीय भूतपूर्व गोर्खा सैनिकहरुले पेन्सन पेइङ अफिसले भारतको कानुन नमान्दा आफूहरुले अनेकन दुःख पाउने गरेको बताएका छन् ।
एक्स सर्भिसम्यान सेल, पोखराले बुधबार पोखरामा पत्रकार सम्मेलन गरि भारतीय सैनिकको मृत्यू भएपछि उसको श्रीमतीले पेन्सन पाउनका लागि अनेकन समस्या झेल्नु परेको जानकारी दिइयो ।
श्रीमान भइञ्जेल श्रीमानले पेन्सन पट्टा बुझिराखेपनि श्रीमानको मृत्यूपछि विवाह दर्ता, विवाह अघिको डकुमेन्ट, जग्गाको लालपूर्जा लगायत विभिन्न डेढ दर्जन कागजात खोजेर भूपू सैनिकका बिधवा श्रीमतीले समस्या भोग्नुपरेको सेलका संयोजक कर्णेल कमानसिंह गुरुङले बताए ।
त्यस्तै, दुई वटा नाम भएका सैनिक, जात परिवर्तन गरी सेनामा भर्ती भएका, पहिलेको श्रीमतीको मृत्यूपछि दोश्रो विवाह गरेका सैनिकको श्रीमती, इस्वी सम्वत र विक्रम सम्वतको फरकका कारणलगायतले पनि समस्या भोगिरहेको उनको दाबी छ । कर्णेल गुरुङले ती समस्या समाधान गर्नलाई पेन्सन पेइङ अफिसका कर्मचारीले कागजात मिलाउन नसक्ने भन्दै भारतबाटै अफिसरसहितको टिम मगाएर समस्या समाधान गर्नुपर्ने बimg_2260ताए । उनले भारतका पेन्सनरको मृत्यु हुने बित्तिकै मृत्यु दर्ताको प्रमाणपत्रले विधवाले पेन्सन पाउने भए पनि नेपालीलाई भारत सरकारको कानुनविपरित पेन्सन पेइङ अफिसका कर्मचारीले अनेकन कागज खोज्नु गलत भएको सुनाए ।
विगतमा बाहुन, दलित लगायतलाई सैनिकमा भर्ती हुन नदिइने भएका कारण उनीहरुले जात फेरेर कसैले गुरुङ त कसैले मगर लेखेर जागिर खाएको तर नेपाली नागरिकता भने आफ्नै जातमा हुँदा अहिले नागरिकता नभई पेन्सन पट्टा नदिदा उनीहरुले पेन्सन बुझ्न नपाएको पनि कर्णेल गुरुङको भनाई छ । यस्तो समस्या भोग्ने करीब ४० प्रतिशत सैनिकका परिवार रहेको उनले दाबी गरे । नेपालमा कुल १ लाख २६ हजार भारतीय भूपू सैनिक छन् भने पोखरामा मात्र ६३ हजार सैनिक रहेको बताइन्छ ।
कर्णेल गुरुङले यि समस्या सुनाउ पटकपटक प्रयास गरे पनि पहुँच नहुँदा गुनासो राख्ने ठाउँ नपाएर भारतीय राष्ट्रपति पोखरा आएको सन्दर्भ पारि पत्रकार सम्मेलनमार्फत आफ्ना गुनासा र दुःखहरु सार्वजनिक गर्नुपरेको बताए ।
आफूहरुको बिरोध भारत सरकार, भारतीय राष्ट्रपतिबिरुद्ध लक्षित नरहेको स्पष्ट पारे । उनले भने,‘हामीले भारत सरकार र वा भारतीय राष्ट्रपति बिरुद्ध लक्षित गरेर आवाज उठाएका हैनौं, बरु यहिंको भारतीय दुतावास र पेन्सन क्याम्पका कर्मचारीको ढिलासुस्ती र लापर्वाहीले गर्दा समस्या भएकाले सुधार्नका लागि दवाब दिएका हौं ।’ उनले यसअघी भारतीय सैनिकका उच्च अधिकृत, भारतीय दुतावासलगायतमा ध्यानाकर्षण गराउँदा पनि समस्या नसुल्झिएकाले भारतीय राष्ट्रपति पोखरा आएको बेला आम संचारमार्फत आफ्ना पीडाहरु बाहिर ल्याएको बताए ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी ३ दिने नेपाल भ्रमणको क्रममा कात्तिक १९ गते शुक्रबार पोखरा आउने कार्यक्रम छ । सो अवसरमा एक्स सर्भिसम्यान सेल, पोखराले समस्या समाधानका लागि आग्रह गर्दै ज्ञापन पत्र बुझाउने तयारी गरेको छ । त्यसका लागि दुतावास र पेन्सन क्याम्पलाई समय मिलाई दिन आग्रह गरिसकेको छ । तर दुतावास र पेन्सन क्याम्पले जवाफ दिइनसकेको सेलका सचिव ओनररी क्याप्टेन पदमबहादुर गुरुङले बताए ।