पोखरा लेखनाथ महानगरपालिका वडानम्बर १७ को विवाद बारे निर्वाचन आयोगले जवाफ पठाउदै मतगणना सुरु गर्न निर्देशन दिएपछि एमाले बाहेक अन्य दलहरुले मतगणना वहिस्कार गर्दै पुननिर्वाचनको माग गरेका छन् ।
आयोगको निर्देशन पछि बसेको सर्वदलीय बैंठकमा सहमति नभएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु गरेपछि ज्ञापनपत्र बुझाउदै पुन निर्वाचनको माग गरिएको हो । कांग्रेस, माओबादी केन्द्र, राप्रपा, नयाँ शक्ति, संघिय समाजवादी फोरम लगायतका दलले ‘कानुन विपरितको निर्वाचन वदर गरी पुन: निर्वाचन गरीपाँउ ’ भन्दै मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णलाई ज्ञापनपत्र बुझाएका हुन् ।
‘स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७८ को उपदफा १ बमोजिम स्वस्तीक छाप जाच गरी अनुसूचि ३७ बमोजिमको मुचुल्का छ भने देखाउनुहोस् भन्दा उक्त अनुसारको मुचुल्कानै नभएको बुझिएको हुदा गैरकानुनी रुपमा भएको निर्वाचनको मतगणना रोक्का राखी अबैध रुपमा भएको निर्वाचन बदर गरी पुन निर्वाचन गरीपाँउन निवेदन गरेका छौ । ’ ज्ञापनपत्रमा भनिएको छ ।
‘ शनिवारदेखि मतगणना स्थगित भएपनि कानुनले निर्दिष्ट गरेका प्रक्रिया नअपनाइ खुल्ला रुपमा मतपत्र राखेकाले उक्त मतपत्र के कस्ता अबस्थामा छन् भन्ने समेत थाहा नभएको र विश्वासलायक नभएको ’ असन्तुष्ट दलहरुले भनेका छन् । साथै एमाले कार्यकर्ताले विभिन्न पार्टीका पास भिरेर मतगणना स्थलमा बस्दै आएको र आफ्नो पार्टीका भनिएका प्रतिनिधि नक्कली भएको र आफुहरुलाई प्रवेशमा रोक लगाएको असन्तुष्ट दलहरुले आरोप लगाएका छन् ।
Leave a Reply