पुख्र्यौली बिँडो थाम्ने छविको धोको

पेशाले उनी पत्रकार हुन् । तर, गीत गाउन माहिर छन् । विभिन्न प्रतियोगितामा गीत गाउदा पाएको हौसलाले उनलाई गीदाङ्गे बनायो । २०६४ सालमा एबीसी टेलिभिजनबाट पत्रकारितामा प्रवेश गरेका उनी अहिले अनलाइन पत्रिका टुडे पोखरा डटकमका समाचर प्रमुख छन् । उनी हुन्, बाँफिकोट गाविस वडा नं. –५ हाल बाँफिकोट गाउँपालिका वडा नं. ५ पश्चिम रुकुमका छवि मगर (छविलाल घर्तीमगर) । २०७४ सालमा ‘सञ्जोगैले भेट भो तनहुँमा….’ बोलको कौडा गीतको म्यूजिक भिडियो निकालेपछि यसले बजारमा राम्रै चर्चा कमायो । बाह्र मगरात भनिने तनहुँ, स्याङ्जा, पाल्पा, कास्की लगायत जिल्लाका मगर समुदायमा प्रचलित गीत कौडा गाएर पाएको सफलताले उनलाई फेरी अर्को गीत ‘माछापुच्छ«े शिरको पानी…’ निकाल्न हौस्यायो ।

 

अडियोमा रहेको यो गीतलाई युटुबमा राखेपछि पाएको चर्चाले उनलाई अरु गीत गाउने जोश जाग्यो । लगत्तै उनले अर्को कौडा गीत निकाले, ‘तिम्रै चर्चा सुनेर…’ । यो गीत युटुबमा अपलोड गरेपछि उनलाई आएको प्रतिक्रियाले छवि गायनमा लाग्न अझ हौसिएका छन् । ‘म निकै उत्साही छु, सारेगम सिक्दै गरेको मैले ती प्रतिक्रियाले गायनमै लागिरहन हौसला मिलेको छ’ गायक छवि भन्छन्,‘मैले निकालेका तीन वटै गीत सबैले मन पराइदिनुभो । त्यही उत्साहले मैले झ्याउरे गीतको म्यूजिक भिडियो निकाल्ने तयारीमा छु, तीज लगत्तै बजारमा ल्याउने योजनामा छु ।’ लगत्तै पूर्वेली र पश्मिका ठेट केही लोक भाकामा गीत गाउने तयारी भइरहेको बताउने उनले मगर भाषाको गीत समेत गाउन छलफल गरिरहेको सुनाए ।

 

सानैदेखि गीत गाउन मन पराउने छवि घरको वातावरण नै सांगीतक थियो । उनका बुवा चन्द्रबहादुर घर्तीमगर राजनीतिमा सक्रिय थिए । लाहुरेको छोरो राजनीतिमा जति चल्चापुर्जा थिए, रंग रमाईलोमा उत्तिकै पोख्त । रुकुमका कुनाकुनामा लाग्ने मेलाहरुमा छविका बुवा चन्द्रबहादुरले दोहोरी गाउन कसैलाई जित्न दिँदैनथे । नाचमा पनि त्यत्तिकै माहिर । झ्याउरे, पैंसेरु, टप्पा, बनगारी, सिङगारु लगायतमा नाचमा छविका बुवा गजबले नाच्थे । पछि बुवाको पदचाप पछ्याउँदै छविका जेठा दाजु डिलबहादुर घर्तीमगर पनि गायन र वाद्यवादनमै जमे । २०५० तिर छविका जेठो दाजु डिलबहादुर रक्तिमको कलाकार टोलीमा थिए ।

 

गाउनमा खप्पिस डिलबहादुर बजाउनमा पनि उत्तिकै पोख्त थिए । सारङ्गीबाहेक उनले नबजाउने कुनै वाद्ययन्त्र नै थिएन । पछि नेपाल प्रहरीमा जागिरे भएका डिलबहादुर अघिल्लो वर्ष मात्रै प्रहरी सहायक निरिक्षकबाट रिटायर्ड भए । रिटायर्ड भए लगत्तै उनी संगीतमै रमाइरहेका छन् । यही सांगीतक वातावरणमा हुर्किएका छविलाई पनि गाउन र नाँच्ने वातावरण मिल्यो । ‘हाम्रो घरमा खमाउरीको जोरमादल, झ्याली, डौंरी, लगायत वाद्यवादनका थुप्रै सामाग्री थिए । बाबा दाईहरु हामी घरको बार्दलीमा बसेर नाचजागन गथ्र्यौ । हाम्रो घरको वातावरण नै संगीतमैत्री हुन्छ । नाच्नु, गाउनु, रमाउनु, ख्याल ठट्टा गर्नु त नियमित प्रक्रिया जस्तै हो’पुराना दिन सम्झिँदै छवि भन्छन्,‘हामी मगरहरु त जेनेटिक रुपमै कलाकार हौं । अहिलेका चलेका कलाकारहरुजस्तो एकपुस्ते कलाकार होइनौं । हामीले गीत गाए पनि कलाकार नगाए पनि कलाकार । हाम्रा घरमा हेर्नुस् कि बाँसुरी हुन्छ त्यो नभए मादल त पक्का हुन्छ ।’

 

हाल पोखरामा बस्दै आएका छविले २०६० सालमा कोहलपुरमा संगीत प्रशिक्षण लिएका थिए । त्यस लगत्तै संगीतमा फाट्टफुट्ट लागे पनि यसलाई पेशाकै रुपमा भने लिएनन् । विभिन्न कार्यक्रममा गीत गाउने उनलाई अब भने गायनलाई सँगसँगै लैजानुपर्छ भन्ने लाग्न थालेको छ । आदिवासी जनजाति पत्रकार महासंघ कास्की शाखाको सदस्य समेत रहेका उनी मगर साँस्कृतिक कलाकार संघमा पनि आबद्ध छन् । विभिन्न म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेका उनी पत्रकारितासँगसँगै पुख्र्यौली बिँडो थाम्न पनि संगीत कर्ममै लाग्ने योजनाामा रहेकोे सुनाउँछन् ।

 

https://www.youtube.com/watch?v=_uQdm5rSUgw

https://www.youtube.com/watch?v=kjnZp8VMMgE&t=109s