पिपल्स् एक्सन पार्टीले नेपालमा मृत्युदण्डको सुरुवात गर्ने

नयाँ राजनैतिक दल पिपल्स् एक्सन पार्टीले नेपालमा मृत्यु दण्डको व्यवस्था सुरु गर्ने बताएको छ । ‘शान्ति, सुरक्षा र समृद्धि हाम्रो दर्शन हो’ भन्ने नारा बोकेर सोमबार पोखराको पाँच तारे होटल पोखरा ग्राण्डमा घोषणा गरिएको उक्त पार्टीले मृत्युदण्ड सुरुवात गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

पिपल्स् एक्सन पार्टी, नेपालका अध्यक्ष बलराम थापामगरले ३१ बुँदे घोषणपत्र वाचन गर्दै नेपालमा नयाँ व्यवस्थाको सुरुवात गर्न पार्टी घोषणा गरिएको दाबी गरे । उनले आफ्नो पार्टी सत्तामा गएपछि लागु गर्ने विभिन्न कार्यक्रमहरु बुँदागत रुपमा पढेर सुनाएका थिए । पिएपी नेपालको घोषणापत्रमा निःशुल्क शिक्षा नीति, बालबालिकाको संरक्षण नीतिलाई सबैभन्दा बढी जोड दिइएको छ ।

पिएपीले राष्ट्रियताको अधिकारमा एक पटकको नेपाली सँधैको नेपाली, पुस्तादेखी पुस्ता सम्म वंशजको नाताले उ सँधैको लागी नेपाली हुनेछ भन्ने घोषणापत्रमा उल्लेख गरेको छ । ‘१८ वर्ष पुगेपछि हरेक नेपाली नागरिकले दुई वर्ष अनिवार्य रुपमा राष्ट्रको सेवा गर्नुपर्नेछ’ अध्यक्ष थापामगरले भने,‘दुई वर्ष राष्ट्र सेवा गरेपछि हरेक युवा गलत कार्य गर्नबाट बच्नेछ, उनीहरुले अनुशासन र कानुनी शासनबारे सिक्नुका साथै देशलाई संकट परेको बेला योगदान दिनेछन् ।’
पार्टीका उपाध्यक्ष नरेश कोन्मेले पार्टीले प्रहरीले जनतालाई दिनुपर्ने सेवा प्रभावकारी रुपमा दिए÷नदिएबारे छानविन गर्न स्वतन्त्र प्रहरी आयोग गठन गरिने पार्टीको नीति रहेको बताए ।

‘नेपालका ७७ वटै जिल्लामा जागिर केन्द्र अर्थात जब सेन्टर खोलिनेछ’ उपाध्यक्ष कोन्मेले भने,‘कुनै पनि व्यक्ति, संस्था र उद्योगले अनिवार्य रुपमा जब सेन्टरमार्फत नै कामदार पुर्तीको सूचना दिनुपर्नेछ ।’

उनले पार्टीको नेपाल कल्याण सेवा नीति अन्र्तगत हरेक नागरिकले ६५ वर्ष पुगेपछि सामाजिक सुरक्षा भत्ता पाउने र बालबालिकालाई १५ वर्ष नपुगेसम्म बालबालिका भत्ता उपलब्ध गराइने बताए । ‘घरबार विहीन नागरिकका लागि सरकारी घर उपलब्ध गराइनेछ । यसका लागि उनीहरुले न्यूनतम शुल्क तिर्नुपर्नेछ ।’ उनले भने । उनका अनुसार नेपालमा आवतजावत गर्न राहदानी प्रणाली लागू गरिनेछ ।
पार्टीको श्रम कैद नीति अन्र्तगत हरेक कैदीले अनिवार्य रुपमा दैनिक १५ घण्टा काम गर्नुपर्ने व्यवस्थ लागु गरिने उनले बताए । घोषणापत्रमा प्रधानमन्त्रीको पदावधी पाँचवर्षको मात्रै हुने र एक पटक प्रधानमन्त्री भएपछि फेरी हुन नपाइने समेत उल्लेख गरिएको छ ।

पार्टी घोषणा कार्यक्रम सुरु हुनु अघि अध्यक्ष लगायतका पदाधिकारीलाई पोखरा ग्राण्डको गेटबाट पञ्जेबाजासहित कार्यक्रमस्थल प्रवेश गराइएको थियो । त्यस अवसरमा सामाजिक अभियन्ता इन्दिरा रानामगर, बेलायती सेनाका भूपू कर्णेल जेपी क्रस लगायतको उपस्थिती रहेको थियो । पार्टीमा भूपू गोर्खा सैनिकहरुको बर्चश्व रहेको छ ।