पाइयो पाइयो भन्दै मनाइने त्यो माघी

0Shares

मनोज घर्तीमगर-देश यतिबेला माघीमय भएको छ । मगर, थारु, छन्त्याल, नेवार, लिम्बु लगायत समुदायले मनाउने माघी अहिले राष्ट्रिय पर्व भइसकेको छ । यतिबेला धेरैजसो नेपालीले माघी पर्व मनाउन थालेका छन् । सरकारले पनि माघीलाई राष्ट्रिय चाडको मान्यता दिएर सार्वजनिक विदा समेत दिइसकेको छ । माघ १ गते मनाई यो पर्व ठाउँ, समुदाय र परिवेश अनुसार फरक तरिकाले मनाउने गरिन्छ । हो, मध्यपश्चिमको रुकुम जिल्लाको बाँफिकोट गाविस वडा नं. ५ मा मनाइने फरक प्रकारको माघीबारे धेरै कमले सुन्नु भएको होला । सानोमा बडा रमाइलो तरिकाले मनाएको माघीले मलाई गाउँघरतिर फर्काउँछ । आज त्यही माघीको चर्चा गर्दैछु ।
रुकुम साँस्कृतिक दृष्टिकोणले जति धनी छ, यसको त्यति कम प्रचार भएको छ । माओवादीको सशस्त्र द्वन्द्व सुरु हुनु अघि नेपालमै त रुकुमको नाम कम सुनिन्थ्यो भने विदेशमा यसको प्रचार कसरी होला ? हरेक हिसाबले काठमाडौं खाल्डोको सौतेनि व्यवहार सहँदै आएको रुकुमले साँस्कृतिक दृष्टिकोणबाट पनि सहयोग पाएन । त्यसैले त यहाँको साँस्कृतिक परम्परा, जात्रा, मेला, पर्व लगायत अनेकन फरकखाले रितीरिवाजले कहिल्यै हुर्किन बढ्न पाएनन् । प्रचारप्रसार नभएपछि यहाँका फरकखाले मेला पर्वबारे कसैलाई पत्तो भएन । सायद त्यसैले होला, रुकुमको बाँफिकोट गाविस वडा नं. ५ बडगाउँमा लाग्ने बिछट्टै रमाईलो माघीबारे धेरैलाई पत्तो छैन ।

बडगाउँ विशेष गरि मगर र ठकुरी बाहुल्य गाउँ हो । यहाँ कामी, बिटालु(शाहीबाट तल्लो जातमा झारिएका), चन्द,  सुनार लगायत जातिको बसोबास छ । यहाँका सबै जातिको साझा पर्व हो माघी । माघ १ गते बिहानै बालबालिका घरघरमा ‘पाईयो…पाईयो…’ भन्दै घरघरमा माग्न जान्छन् । अनि घरधनीले तिलको लड्डु, मकै, भटमासका खाजा, जुनालोका खाजा, तरुल, बन तरुल, बिस्कुट, उस्याएको कट्दु (फर्सी) दिन्छन् । कद्दु दिने धेरै घरधनी अभागी हुन्छन् किन कि मिठो नभए केटाकेटिले भित्ताभरी पुसेर हैरान बनाइदिन्छन् । त्यही दिन बुढापाका पनि ‘पाईयो…पाईयो…’ भन्दै समूह बनाएर घरघरमा जान्छन् अनि जाँडरक्सी, खिचडी खान्छन् । माघीको अघिल्लो दिन गाउँका तरुनीतन्नेरी मिलेर गाउँका प्रत्येक घरबाट चामल, जाँड, रक्सी, रुपैंया, पिङ बनाउने बाबियो, भिमल लगायत बटुलिसकेका हुन्छन् । त्यही रात तन्नेरीहरु मग्मा गाविसको सालघारीमा गएर लिङे पिङ बनाउने पाँच वटा साल चोरेर ल्याइसकेका हुन्छन् ।
पाइयो माग्ने दिनको अघिल्लो दिन रातभरी तरुनी तन्नेरीले पिङ बनाउन बनाउने लट्टा बाटिससकेका हुन्छन् । अनि पाइयो माग्ने दिनमै गाउँको छेऊमा पात्लाफाल्ना (कुनै रोगब्याथी लागे पूजापाठ गरेर ती सामग्री फाल्ने ठाउँ) भन्ने ठाउँमा पूजाआजा गरेर एउटा कुखुराको बली दिएर लिङे पिङ तयार गरिन्छ । त्यहि दिन बाँफिकोटको १ र २ मा दमाई बस्ती छ, गाउँका युवा गएर दमाहा लगायतका बाजागाजा ल्याएर आउँछन् । अनि केटाकेटीले दमाह बजाउँदै गहुँबारीमा बुर्कुसी मार्छन् । राम्रो भनौं वा नराम्रो त्यो गहुँबारी हाम्रै थियो । त्यहाँबाट पारि मग्मा गाविस देखिने भएकाले मग्माललाई देखाउन यहाँ आएर बाजागाजा बजाउने गरिन्थ्यो । मैले पनि धेरै पटक यस्तै गरे । यहि दिन मग्माका केटाहरु पनि बडगाई खोला बाजागाजा बजाउँदै आउँछन् । यताबाट बडगाउँका केटाहरु जान्छन् । गाउँबाट खोला जाने दुरी करिब आधा घण्टाको भएकाले यहाँ खोलावारी र खोलापरिको दृश्य गजबको हुन्छ ।

यहि दिनदेखी पिङ खेल्नेको लर्को लाग्थ्यो । बाँफिकोट गाविस लगायत छिमेकी गाविस दुली मग्मा, छिबाङ, जिपु, खलङ्गा, झुला लगायत विभिन्न ठाउँबाट मान्छेहरु माघी मेला हेर्न आउँथे । पिङ खेल्न र हेर्न आउने युवायुवतिबिच अर्को रमाई खेल हुन्थ्यो । सिस्नो खेल्ने । सिस्नोले शरिमा छोए यति पोल्छ कि सुन्दै डर लाग्छ । तर, सिस्नो खेल्ने छोट्याछोट्टी (युवायुवति)को घमासान हेर्न लायकको हुन्छ । जो सुकै होस् कुनै मतलब छैन, केटाले केटीलाई केटीले केटालाई सिस्नोले झपाझप हान्ने छुट हुन्छ माघीमा । पहिलो पटक माघी मेला हेर्न जानेहरु यो अनौठो र रमाईलो परम्परा देखेर दंग पर्छन् । कोही त सिस्नोले हानेकोमा रिसाउँछन् पनि । तर यो पर्वको रमाईलो पक्ष भनेकै यहि हो कहाँ रिसाउन पाइयोर ?

सिस्नो खेल्ने परम्पराभन्दा अझ रमाईलो पक्ष त यहाँ अर्‍ै छ । सुन्दै पनि अचम्म लाग्ने कुरा यहाँ केटाकेटी खेले झै बेहुलाबेहुली बनाएर मेला भरिन्छ । अर्को गाविस बडगाईखोलाभन्दा पारी मग्गा गाउँ र वारी बडगाउँ गाउका मासिहरु, बाजागाजासहित खोलामा झर्छन् माघ २ गते । त्यसपछिसँगै मिलेर नाँचगान गर्छन् । त्यसका लागि सानी बालिका बेहुला र बेहुली बन्छन् । खोला मिसिन गएपछि दुवै गाउँमा दमाईहरु मिलेर नाच्छन् । बेहुलालाई साटासाट गरिन्छ अनि मेला सकिन्छ । आआफ्नो गाउँ फर्किन्छन् मानिसहरु यतिबेला खोलामा ठूलो मेला लाग्छ । जहाँ सिस्नो हान्न पनि छुट छ । संभवतः यस्तो मेला नेपालमा यही गाउँमा मात्रै लाग्छ । अर्को रमाईलो परम्परा खोलाबाट फर्केपछि बडगाउँ आउने जोकोही पाहुनालाई बडगाउँमा स्वागत स्वरुप दाल, भात, मासु, रक्सी र जाँड खुवाईन्छ । त्यही भएर पनि मेला भर्न यहाँ विभिन्न ठाउँबाट आउने गरेका छन् ।
अहिले मलाई त्यो माघीको यादले सताइरहेको छ । जहाँ पिङ खेलिन्थ्यो । सिस्नोले छोट्टीलाई झपाझप हानिन्थ्यो । गहुँबारीमा उफ्रिदै खोला गइन्थ्यो । तर, यस्तो माघी मनाउन नभएको झण्डै १२ वर्ष बितिसकेको छ । मेरो गाउँमा यसरी मनाउने पर्व देशमा विभिन्न ठाउँमा फरकफरक तरिकाले मनाइन्छ । तिथी एउटै भए पनि यसलाई फरक समुदायले फरक तरिकाले सम्बोधन गरेर माघी मनाउँछ । थारुले माघी भन्छन् भने मगरले माघे सकराटी । लिम्बुले कक्फेक्वा तङनाङ ले चिन्छन् माघीलाई । किरातले एलेस सम्वत् मान्छन भने ध्यूचाकु सल्हु भन्ने गरेको पाइन्छ । छन्तयालले छारमेङ भन्छन् भने हिन्दु समुदायले माघे सक्रान्तिका नामले पुकारर्छन् । पर्वको तिथीमिथी एउटै भए पनि समुदायपिच्छे फरक तरिकाले मनाइन्छ माघी ।

जसले जे दलिल पेश गरे पनि विशेष गरि यतिबेला सबैलाई माघीको रौनकले छोएको छ । २०५९ सालमा माघीमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग राखेपछि माघीमा विदा दिन थालिएको हो । पछिल्लो समय मगर समुदायले पनि आफ्नो मौलिक चाड ‘माघे सकराटी’ हो भन्ने दलिल पेस गर्दै आएको छ । नेपाल मगर संघले केही दिन अघि सरकारले माघे सकराटीमा तोपको हर्ष बढाइ गर्नुपर्ने माग पनि अघि सारेको छ । दशैंमा मात्रै तोपको हर्ष बढाइ गर्नु विभेदकारी भएको भन्दै सरकारले माघीमा पनि हर्ष बढाइ गर्नुपर्ने मगर संघको तर्क छ । मगर संघले आफ्नो चाड भने पनि थारुले आफ्नो सबैभन्दा ठूलो पर्व माने पनि अहिले माघी सबै नेपालीको भइसकेको छ । नेपालका विभिन्न जातजातिहरुले आ–आफ्नै सांस्कृतिक अस्तित्व र पहिचान झल्काउने चाडपर्व परापूर्व कालदेखी नै मान्दै आएका छन् । तीमध्ये माघी पनि एक हो । भलै यसको नाम समुदाय अनुसार फरक छ ।

नेपाल सरकारले विभिन्न जाति र समुदायले मनाउदै आएका चाड पर्वलाई सरकारी विदा दिने निर्ण गरे अनुसार माघी पर्वमा पनि सार्वजनिक विदा दिएको छ । तर, यो बिदा दिँदा सरकारले गञ्जागोल अवस्था सृजना गरेको छ । सरकारले एकातिर मगर समुदायको राष्ट्रिय चाड भनी माग १ गतेलाई घोÈणा गरिसकेको छ भने, अर्कोतिर गृह मन्त्रालयद्वारा प्रकाशित चाड तथा सार्वजनिक विदाको तालिका र कतिपय २०७० सालको भित्तेपात्रोममा माघ १ गते छन्त्याल जातिको पर्व भनेको छ । यस्तै सरकारले माघी पर्वलाई थारु समुदायको महान पर्व पनि भन्न भ्याएको छ । सरकारको यो निकम्मापनले विभिन्न समुदायबिच नै दरार उत्पन्न हुने संकेत देखिएको छ । किन कि मगर, थारु, छन्तयाल लगायतले माघीलाई आफ्नो ऐतिहासिक पर्व भनेका छन् सरकारले त्यसमै गोलमोटल बनाएको छ । तर, माघी अहिले कुनै समुदाय विशेषको चाड रहेन । यो समग्र नेपालीको पर्व भइसेको छ । माघे सक्रान्ति पर्व प्रकृति र मानव जातिसंग प्रत्यÔ सम्बन्ध राख्ने संसार कै अति प्रचीनतम मध्य एक पर्व हो । माघी मान्ने चलन नेपालबाहेक अन्य देशमा पनि विभिन्न नाममा मनाइन्छ । त्यसैले माघीलाई कुनै पनि राज्य वा सरकारले यो वा त्यो जाति विशेÈको चाड हो भनेर तोक्नु आफैमा ठिक काम होइन । यो चाड कुनै जाति विशेÈको नभएकाले परम्पराका हिसाबले जोजो समुदायले आआफ्नै ढंगले मनाउदै आएका छन् तिनलाई मान्यता दिनुमा बुद्धिमता देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *