पर्वतको आर्थरमा मिलन फाउण्डेशनद्वारा आँखा शिविर सम्पन्न

मिलन फाउण्डेशन नेपालको आयोजनामा पर्वतको कुश्मा नगरपालिका–१४, आर्थर डाँडाखर्कमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । २ सय ५३ जनाले आँखा जाँच गराए, ७ जनाको मोतिविन्दु शल्यक्रिया गरिने भएको छ ।हिमालय आँखा अस्पताल, घारीपाटन, पोखराको प्राविधिक सहयोगमा पोखरीचौरस्थित पञ्चकोशी माविको प्राङ्गणमा शनिबार भएको आँखा शिविरमा २ सय ५३ जनाले आँखा जाँच गराए ।

आँखा जाँच गराएकामध्ये ७ जनाको मोतिविन्दु शल्यक्रिया गरिने भएको छ । ७० वर्षीय टेकबहादुर विक, ८३ वर्षीय मंगले सार्की, ६४ वर्षीया रुपा गुरुङ, ८५ वर्षीय भवानी शंकर पौडेल, ६९ वर्षीय लालसुबा विक, ८१ वर्षीय शिवलाल सुनार र ५२ वर्षीय ताराबहादुर कार्कीको निःशुल्क मोतियाविन्दु शल्यक्रिया गरिने फाउण्डेशनकी कोषाध्यक्ष देउकी सिंजाली “दिपिका”ले जानकारी दिए । उनीहरूलाई शनिबार नै आँखाको शल्यक्रियाका लागि पोखरा ल्याइएको छ ।

यसअघि, शिविरको उद्घाटन गर्दै कुश्मा नगरपालिका–१४ का वडाध्यक्ष भीमप्रसाद गुरुङले आर्थर डाँडाखर्कका आँखा बिरामीहरूलाई लक्षित गरेर फाउण्डेशनले शिविरको आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे । मिलन फाउण्डेशन नेपालसँग सहकार्य गरेर कार्यक्रमको आयोजना गर्न पाएकोमा खुशी लागेको बताउँदै वडाध्यक्ष गुरुङले आगामी दिनमा पनि वडाबासीको समस्या समाधानका लागि वडा सधैं तयार रहेको बताए ।

हिमालय आँखा अस्पताल, घारीपाटन, पोखराका बहिरंग विभाग प्रमुख डा. गोविन्दनाथ योगीले मिलन फाउण्डेशनसँग हरेक वर्ष सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै निःशुल्क रुपमा आँखाको उपचार गर्न पाउनु महत्वपूर्ण अवसर भएको बताए । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै फाउण्डेशनकी कोषाध्यक्ष देउकी सिंजाली “दिपिका”ले ग्रामीण क्षेत्रका आँखाका बिरामीले आफ्नै घरदैलोबाट सहज उपचार पाउन सकून् भन्ने उद्देश्यले हरेक वर्ष आँखा शिविरको आयोजना गर्दै आएको उल्लेख गरे ।

मिलन फाउण्डेशन नेपालकी कार्यवाहक अध्यक्ष देवीकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव कमल थापामगर र कार्यक्रम संयोजक क्या. हितकाजी गुरुङले स्वागत गरेका थिए । निःशुल्क आँखा शिविरका लागि हरेक वर्ष फाउण्डेशनका संरक्षक समाजसेवी दुर्गा गुरुङ “मिलन” र अध्यक्ष गंगाकुमारी गुरुङले प्रमुख दाताका रुपमा सहयोग गर्दै आउनुभएको छ । यस वर्ष शिविर सम्पन्न गर्नका लागि कुश्मा नगरपालिका–१४, वडा कार्यालयले व्यवस्थापनमा सहयोग गरेको थियो भने आर्थर डाँडाखर्क सहयोग समिति, हङकङका भूपू अध्यक्ष मीनबहादुर गुरुङ र हाल कतारमा कार्यरत फाउण्डेशनका कार्यसमिति सदस्य गोविन्द मल्लले सहयोग गरेको हुन ।