‘अनि म थोरै एउटा कुरा भन्न पनि चाहेँ । सबैजना आउट हुँदा खेरी उहाँहरुको आ–आफ्नो फ्यानहरु हुनुहुन्छ हैन ! उहाँहरुले यसो गरेर फाल्यो उसो गरेर फाल्यो भन्नुहुन्छ, त्यो चाहीँ प्लीज मेरो फ्यानहरु हुनुहुन्छ भने नेपाल आईडललाई त्यसो नभनिदिनुहोला । नेपाल आईडल हुन्थेन भने आज सागर आले यहाँ हुन्थेन । उहाँहरुले जे गर्नुहुन्छ एकदम फियर गर्नुहुन्छ ।’
शुक्रबार नेपाल आईडलको उत्कृष्ट ४ बाट बाहिरिएका सागर आलेले बोलेका अन्तिम शब्दहरु हुन यी । सागर आलेले नेपाल आईडलमा रहँदा आफ्नो गायकीबाट आफ्ना शुभेच्छुकहरुको जति मन जिते त्यो भन्दा बढि उनले बाहिरिने बेला बोलेका शब्दहरुले जितेका छन ।
नेपाल आईडलबाट बाहिरिँदा सागर आलेले बोलेका शब्दहरु अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेका छन । फेसबुक र ट्विटरमा सागर आलेले बोलेका शब्दहरुको चर्चा सुरु भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले सागर आलेलाई नाम जस्तै विचार पनि सागर जस्तै चौडा भएको भन्दै प्रशंसा गरेका छन ।
बिदाई पुर्व सागर आलेले बोलेका शब्दहरुको सम्पादीत अंश यस्तो छः
‘शीर्ष चारसम्म पुग्नु नै ठूलो कुरो हो । पहिलो अडिसनमा आउँदा ममा निकै नर्भशनेस थियो । जज, दर्शक, परिवार, सहकर्मीहरुको मायाँले यहाँसम्म पुग्नु नै मेरो सफलता हो ।
मलाई संगीत सिकाउनेहरु सम्पुर्णलाई धन्यवाद दिन चाहान्छु । म आइडलमा आउँदा बच्चै जस्तो थिएँ तर आइडलमा आएपछि मेरो परिचय फराकिलो बनेको छ ।
फस्ट नै हुनुपर्छ जस्तो लाग्दैन मलाई । सम्बन्ध सबैभन्दा ठूलो कुरो हो । मलाई धेरैजनाले चिन्नु भा छ, मेरो लागि धेरै जनाले दुख पाउनु भएको छ ।
सुरुमा त मेरो बाबा ममीले धेरै दुख पाउनुभएको छ । बुवाले जसलाई भेट्दा पनि नमस्ते मेरो छोरालाई भोट गरिदिनु है भन्दै हिड्नुहुँदो रहेछ । बुवाले त्यस्तो गरेको देख्दा उहाँप्रति निकै मायाँ लाग्थ्यो । अर्कोतिर उहाँहरुलाई सागरको बुवाआमा भनेर चिनाउन पाउँद्या खुशी लाग्दोरहेछ ।
देशभित्रबाट मात्रै हैन, देशबाहिर पनि धेरै ठाँउहरुबाट सबैजनाले मलाई मायाँ गरिदिनु भएको छ । मलाई यहाँसम्म मायाँ गर्ने सम्पुर्णलाई धन्यवाद दिँदै, प्रताप आइ लभ यू… अनि निसान, बुद्ध, ….।’
यस्तो छ नेपाल आईडलको भोटको हिसाबकिताब
नेपाल आइडल’को अन्तिम चारको प्रतिस्पर्धाबाट शुक्रबार सागर आले बाहिरिएका छन् । टप चारबाट तीनमा जाने यो भोटको नतिजा अत्यन्तै चर्चित र बिबादित पनि रह्यो । भोट गणनाको बिबाद अदालतसम्म पनि पुग्यो ।
नयाँ भोटिङ नगराउनु भन्ने अदालतको आदेशपछि बिहिबारको सोमा भोटिङ खुला गरिएन । तर, पछिल्लो भोटिङमा कसले कति मत पाएको थियो भन्ने बिवरण हामीलाई प्राप्त भएको छ ।
जसमा कसले अनलाइनबाट कति र एमएसएसबाट कति मत ल्याए भन्ने विस्तृत बिबरण छ । शुक्रबार आयोजकले अदालतमा बुझाएको बिवरणअनुसार पछिल्लोपटकको भोटिङमा बुद्ध लामाले सर्वाधिक मत पाएका छन् ।
भदौ १६ गते रातीदेखि १७ गते अपरान्ह १२ बजेसम्म एसएमएस र अनलाइनबाट प्राप्त भोटमध्ये लामाले सर्वाधिक अर्थात् ११ लाख ४५ हजार ५३८ मत पाएका छन् । यो मत दोस्रो नम्बरमा रहेका प्रताप दासको भन्दा झण्डै साढे दुई लाख बढि हो ।
बुद्धले एसएमएसबाट ६ लाख ९१ हजार ५७ मत पाएका छन् भने अनलाइन भोटिङबाट ४ लाख ५४ हजार ४ सय ८१ मत पाएका छन् । दोस्रो नम्बरमा रहेका प्रताप दासले ८ लाख ९३ हजार ३ सय ४७ मत पाएका छन् । उनले ७ लाख १४ हजार ९ सय ९९ मत एसएमएसबाट र १ लाख ७८ हजार ३ सय ४८ मत अनलाइनबाट पाएका छन् ।
तेस्रो नम्बरमा रहेका निशान भटराईले ८ लाख ७१ हजार ४ सय ८० मत पाएका छन् । उनले अनलाइनबाट ३ लाख ७१ हजार १४९ मत पाएका छन् भने एसएमएसबाट ५ लाख ३ सय ३१ मत पाएका छन् ।
चौथो नम्बरमा रहेका सागर आलेले ८ लाख ९ हजार ९ सय १५ भोट पाएका छन् । उनले एसएमएसबाट ४ लाख १९ हजार ८ सय ७५ मत पाएका छन भने अनलाइनबाट ३ लाख ९० हजार ४० मत पाएका छन् ।
Leave a Reply