पोखरा एकेडेमीकी अनुस्का खराल विन्ध्यवासिनी मा.वि. पोखरा–१६ वाटुलेचौरमा भर्ना हुन आइन्। ६ कक्षा सम्म पोखरा एकेडेमीमा पढेकी उनलाई अंग्रेजी माध्यमको शिक्षा सरकारी विद्यालयमै पढ्न पाउने भएपछि निजि वोर्डिङको पढाई छोडेको उनले वताइन् । यस्तै अल्फा वोर्डिङवाट गौरव नेपाली पनि वोर्डिङको पढाई छोडेर विन्ध्यवासिनी मा.वि. मा पढ्न आएका छन् ।यि मात्र हैन यो शैक्षिक सत्रमा करिव २०० जना विद्यार्थी विन्ध्यवासिनी मा.वि. वाटुलेचौरमा भर्ना हुन आएका छन् । जस मध्ये १०० जना विद्यार्थीहरुले क्लास टेष्टमा पास गरी भर्ना हुन सफल भएका छन् । वाटुलेचौर आसपासका प्रगती वोर्डिङ, लामाचौरको अल्फा वोर्डिङ र सरस्वति वोर्डिङ मात्र हैन वगरको पास्कल वोर्डिङ र मासवारको मदरल्याण्ड वोर्डिङ, सिमलचौरको लिटिल स्टेप मा.वि., गैह्रापाटनको कुमुदिनी होम्स, नविल इन्टनेशनल रानिपौवा, एल एन्जल भुनपुरे, सूर्योदय वोर्डिङ, दिपवाट करिव १०० जना विद्यार्थीहरु विन्ध्यवासिनी मा.वि.मा आएको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले वताए ।
हाल एक हजार विद्यार्थी अध्ययन गरिरहेको विन्ध्यवासिनी मा.वि.मा पढ्न विद्यार्थीहरुको लाम वढेपछि प्रवेश परीक्षा लिएर विद्यार्थी नोट गरेर भर्ना लिनु परेको प्र.अ. आचार्यले वताए । २००४ सालमा पंडित मुक्तिनाथ तिमल्सिनाको विशेष सकृयतामा स्थापित विन्ध्यवासिनी मा.वि.ले नेपालको शैक्षिक इतिहासमा ठूलो विरासत धानेको स्थानिय वुद्धिजिवी झंकनाथ देवकोटा वताउँछन् । समयको माग र अंग्रेजी शिक्षा प्रति आकर्षण वढेपछि विन्ध्यवासिनी मा.वि.ले ९ वर्ष अगाडि देखि अंग्रेजी माध्यमवाट पढाई सुरु गरेको थियो। नेपाली माध्यम वाट पढाउँदा विद्यार्थी घट्दै गएपछि अंग्रेजी माध्यम वाट पढाई सुरु गर्न परेको हो एक शिक्षकले भने। अंग्रेजी माध्यमको पढाई सुरु गरिएपछि वर्षेनी विद्यार्थी वढेको वढ्यै छन्। यहि गतिमा विद्यार्थी वढ्ने हो भने अव भौतिक संरचना र दक्ष जनशक्ति थप्नु पर्ने वाध्यता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा ले वताइन् ।
विद्यालयले शैक्षिक गुणस्तर वृद्धिमा नयाँ योजना ल्याएको छ। विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमै पढाउन पर्ने अभियान शिक्षक अभिभावक संघ र विद्यालय व्यवस्थापन समितिले लिएको छ। आफूले पठाएको ठाउँमा आफ्नो वच्चा पठाउँदा सामुदायिक विद्यालय प्रति जनविश्वास वढ्न जाने र विद्यालयको समग्र शैक्षिक गुणस्तर वृद्धि हुने अपेक्षा राखेर त्यस्तो कदम उठाइएको शिक्षक अभिभावक संघका अध्यक्ष शिवराम पौडेलले वताए । विन्ध्यवासिनी मा.वि.लाई सवैतिर वाट अव्वल र उत्कृष्ठ वनाउन यो अभियान सफल पार्न शिक्षक कर्मचारीले नैतिक रुपले साथ दिनु जरुरी छ ।
Leave a Reply