दोहोरी प्रतिष्ठानमा दाहालको उम्मेदवारी

छवि मगर
पोखरा–गायक जीवन दाहालले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैटौं केन्द्रीय महाधिवेशनमा सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

उनले सोमबार पोखरामा पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गरे । ‘सबैको सर्पोट र सल्लाह बमोजिम सदस्य पदको उम्मेदवारी दिने निर्णय गरें,’ उनले भने, ‘केन्द्रमा रहेर संस्थाको हितमा काम गर्ने इच्छाशक्ति भएकाले उम्मेदवार घोषणा गरेको हुँ ।’ केन्द्रीय अधिवेशन असोज ८, ९ र १० गते काठमाडौंमा हुँदैछ ।

jeevanदाहाल प्रतिष्ठानको गण्डकी अञ्चलको निर्वतमान अध्यक्ष हुन् । २०६७ सालमा अञ्चल कार्यसमिति गण्डकीको सचिव र २०७० मा अध्यक्ष भएका थिए । उनकै कार्यकालमा अञ्चल समिति गण्डकीलाई दुई पटक उत्कृष्ट अञ्चलको सम्मान प्राप्त भएको थियो । दाहाल २०५८ सालमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कास्कीको उपाध्यक्ष थिए ।

दाहाल २०५४ सालमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्रबाट प्रसारित देउराली कार्यक्रम र रेडियो नेपालबाट स्वर परीक्षा पास गरेपछि औपचारिक रुपमा दोहोरी क्षेत्रमा आवद्ध भएका हुन् । रेडियो नेपालमा गीत गाउने क्रममा तारापती सुवेदीसँग जोडी बनाएर धेरै कार्यक्रममा सहभागी भएका थिए ।

दाहालका सांगीतिक गुरु सुवेदीसँग मिलेर थुप्रै गीत पनि रेकर्ड गरे । आजसम्म पनि उनीहरुको जोडी निरन्तर चलिरहेको छ । दुई जनाको सहकार्यमा ‘जाम त भने बनको बाटो, सानु तिम्रो बिहे पछि हो, राती राती बनको बाटो (रोइला), चाहिँदैन धन, सम्झना छैन र, भत्केको पुल छ, भूकम्प गीत, स्वदेश गान लगायत ३ दर्जन गीतहरु बजारमा ल्याइसकेका छन् ।