तामाङ बौद्ध सेवा समितिको आठौं साधारणसभा सम्पन्न

टुडे पोखरा संवाददाता
0Shares

पोखरा १३ संगमटोलस्थित तामाङ बौद्ध सेवा समितिको शनिवार आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको दीप प्रज्वलन गरी उद्घाटन गर्नुहुदै प्रमुख अतिथि नेपाल तामाङ घेदुङका पुर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङले तामाङ समुदायको मौलिक पहिचान र अधिकारका लागि तामाङहरु सचेतनापुर्वक एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो । तामाङहरु विभिन्न संघ संस्था स्थापना गरेर केही सामाजिक र आर्थिक समृद्धितर्फ लम्के पनि मौलिक पहिचान र अधिकारकाबारेमा सचेत हुन नसकेको भन्नुहुदै उहाँले मुलुककै राज्यसत्ता संचालन गर्ने हैसियत तामाङहरु निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिलाई आदिवासी जनजातिहरुले फोहोरी खेलको रुपमा ग्रहण गरेकाले अधिकारबाट बञ्चित हुनुपरेकाले आफ्नो अधिकार र अस्तित्वका लागि पार्टी राजनीति भन्दा माथि उठ्न उहाँको आग्रह थियो ।

कार्यक्रममा विशेष अतिथि नेपाल तामाङ घेदुङका पुर्व केन्द्रीय कार्यवाहक अध्यक्ष कुमबहादुर तामाङ, घेदुङका केन्द्रीय सचिवालय सदस्य तथा तमुवान मगरात अध्यक्ष दीपक तामाङ, कास्कीका प्रमुख सल्लाहकार नासु रामप्रसाद सम्देन, जिल्लाका उपाध्यक्ष तथा तामाङ बौद्ध सेवा समितिका प्रमुख सल्लाहकार टेकबहादुर तामाङ, घेदुङ कास्की जिल्लाकी सदस्य अञ्जु दोङ, लामा समितिका पश्चिमाञ्चल प्रमुख तीर्थ थोकर, युवा घेदुङ कास्कीका उपाध्यक्ष बृजेश तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए

तामाङ बौद्ध सेवा समितिका सदस्यहरुको बृहत उपस्थिती रहेको साधारणसभामा सचिव विष्णु तामाङले प्रस्तुत गर्नुभएको संस्थाको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
तामाङ बौद्ध सेवा समितिका अध्यक्ष केसबहादुर थिङको अध्यक्षता, उपाध्यक्ष बुद्धिबहादुर तामाङको स्वागत र सहसचिव पवित्रा तामाङले कार्यक्रम संचालन गरेका थिए ।