तमु धि नेपालको अध्यक्षमा कर्म, प्रथम उपाध्यक्षमा सरस्वती, सचिवमा जुना र कोषाध्यक्षमा सुमे श्रीप्रसाद निर्विरोध

छवि मगर

पोखरा, असोजtamu-dhe-ghar

तमुहरुको पुरानो साझा गर्बिलो केन्द्रीय संस्था तमु धिं नेपालको असोज १७ गते हुन गईरहेको ३२ औं साधारणसभा तथा अधिवेशनबाट आगामी चारवर्षका लागि नेतृत्वका लागि ८ पदाधिकारी मध्ये ४ पदमा उम्मेदवारी परेको छ भने ४ पदमा उम्मेदवारी दर्ता भएन ।

तमु धिं नेपालका सल्लाहकार प्रमुख गणेशबहादुर तमुको संयाजकत्वमा गठित निर्वाचन समितिको कार्यतालिका अनुसार शुक्रबार दिउसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारीको समय तोकिएकोमा धिंको अध्यक्षमा स्थापनाकालदेखि नै नेतृत्व प्रदान गर्दै आउनुभएकी सफल सामाजिक अगुवा कर्म तमुको मात्रै उम्मेदावारी दर्ता भएको छ । यसरी नै प्रथम उपाध्यक्षमा वर्तमान सहकोषाध्यक्ष सरस्वती तमु र पुर्व महासचिव देवीराज तमुले उम्मेदवारी प्रस्तुत गरे पनि पुर्वमहासचिव तमुले सर्वसम्मतिका लागि नाम फिर्ता लिनु भएको श्रोतले जनाएको छ ।
यसरी नै सचिव वर्तमान सहसचिव अधिवक्ता जुनाकुमारी तमु र कोषाध्यक्षमा वर्तमान कोषाध्यक्ष सुवेदार मेजर श्रीप्रसाद तमुको एकल उम्मेदवारी दर्ता भएको छ । तमु धिं नेपालको अध्यक्षमा कर्म तमु, प्रथम उपाध्यक्ष सरस्वती तमु, सचिवमा अधिवक्ता जुनाकुमारी तमु र कोषाध्यक्ष सुवेदार मेजर श्रीप्रसाद तमुको एकल उम्मेदवारीका कारण उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको छ । तर पनि निर्वाचन समितिले शनिबार मात्रै निर्विरोध भएको घोषणा सार्वजनिक गर्ने जनाएको छ ।
पदाधिकारी मध्ये द्धितिय उपाध्यक्ष, महासचिव, सहसचिव र सहकोषाध्यक्षमा कसैको उम्मेदवारी दर्ता नभएकाले पुनः दोश्रो पटक उम्मेदवारी आव्हान गर्ने निर्वाचन समितिको तयारी रहेको श्रोतले जनाएको छ । तथापि निर्वाचन समितिले आधिकारीक सुचना जारी गर्न बाँकी रहेको बताइएको छ ।
असोज १७ गते अगावै सर्वसम्मतीका रुपमा पदाधिकारी चयन हुन नसके निर्वाचन कार्यक्रम तालिका अनुसार १७ गते मतदान हुने, सर्वसम्मतिमा पदाधिकारी चयन भए १७ गते सपथ ग्रहण पश्चात क्षेत्रीय समाजहरुको सिफारिसमा केन्द्रीय समितिको चयन हुने विधानमा व्यवस्था भएको तमु धिं नेपालले जनाएको छ ।