छवि मगर
तमु धिँ नेपाल केन्द्रिय आमा समूहको नियमित बैठक मंगलबार बसेको छ । हरेक महिनाको १० गते हुने बैठकमा आमा समूहलाई कुनै न कुनै नयाँ विषयबारे प्रशिक्षण दिइने गरिएको छ ।
मंगलबार भएको बैठकमा कृषि विशेषज्ञ बेदकुमार श्रेष्ठले पोषणबारे जानकारी दिँदै पछिल्लो सयमा बजारमा बस्नेहरुले तरकारी लगायतका विभिन्न खाद्यान्न विषादियुक्त खाइरहेकाले स्वास्थ्यमा बढी सचेत हुनुपर्ने बताए ।
विशेषज्ञ श्रेष्ठले घरछेउमै रहेको थोरै जमिनमा पनि केही तरकारी लगाउने बानी बसाले राम्रो हुने सुझाए । त्यस अवसरमा तमु धिँ नेपालकी उपाध्यक्ष समेत रहेकी सरस्वति गुरुङलाई नेपाल पत्रकार महासंघ कास्कीको १० औं महाधिवेशनबाट सर्वाधिक मत ल्याएर केन्द्रिय पार्षदमा बिजयी भएको र महासंघ कास्कीको कार्यसमिति सदस्यमा निर्वाचित भएकोमा पत्रकार एवं लेखक मनोज घर्तीमगरलाई आमा समूहले खादा लगाई सम्मान गरेको थियो ।
आमा समूहकी अध्यक्ष हरिमाया गुरुङले निर्वाचित दुवैलाई खादा लगाएर बधाई समेत दिएकी थिइन् । आमा समूहले सम्मान गरेपछि बोल्दै सरस्वती गुरुङले आमाहरुकै आर्शिवादले आफू बिजयी भएकाले सबै आमाहरुको बिजय भएको सुनाइन् । उनले आमा समूहमा संलग्न आमाहरु आर्थिक रुपमा सबल भए पनि अर्थोपार्जनका लागि केही न केही काम गर्ने बानी बसाले स्वास्थ्यलाई फाइदा पुग्ने बताईन् ।
यस्तै पत्रकार मनोज घर्तीमगरले आमाहरुले केवल लाहुरे मात्र नभई यो देश हाँक्नलाई स्थायी सरकार मानिने निजामती सेवामा लाग्ने अधिकृत पनि जन्माउनुपर्ने बताए । उनले आमाहरुले आफ्ना सन्तानलाई वैदेशिक रोजागारमा जानलाई मात्रै उत्साहित गर्ने भन्दा पनि नेपालमै केही न केही काम गर्न दबाब दिनुपर्ने बेला आएको सुनाए । झन्डै एक सय ५० जना सहभागी भएको कार्यक्रमको संचालन सतिव विना घलेले गरेकी थिइन् ।
Leave a Reply