ठुलो महानगर हाँक्ने खोज्ने अनुहार

0Shares

छवि मगर
झन्डै डेढ साता बाँकी छँदा स्थानीय तह निर्वाचनमा देशकै ठूलो महानगर पोखरा लेखनाथ महानगर हाक्ने थुपै्र उम्मेदवार कस्सिएका छन् । उनीहरुले मंगलबार जिल्ला समन्वय समिति कास्की कार्यालयस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दिए । २० वर्षपछि स्थानीय निर्वाचन होला÷नहोला भन्ने सोमबारसम्मको अनेकौँ आशङ्का र अन्यौललाई चिर्दै दलहरुले बाजागाजासहित उत्साहजनक तरिकाले मनोनयन दर्ता गराए ।
कास्कीमा महानगरसहित चार वटा गाउँपालिकामा राजनीतिक दल र स्वतन्त्ररुपमा उमेदवारी दर्ता भयो । यहाँ उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले उम्मेदवारी दिएर स्थानीय चुनावमा सहभागिता जनाएको छ । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा १७ र उपमेयरमा ११ जनाको उम्मेदवारी परेको छ । मेयरमा ५ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ भने उपमेयरमा युवा व्यवसासी सिरोज कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले मेयरका लागि रामजी कुँवरलाई उम्मेदवार बनाएको छ । कुँवर नेपाली कांग्रेसका पुराना र ईमान्दार नेताका रुपमा चिनिन्छन् । उनी नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष तथा पूर्व महासमिति सदस्य हुन् । ०३६ सालबाट कांग्रेसको ट्रेड युनियनमा आबद्ध कुँवर ०४७ देखि पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । ६१ वर्षीय कुँवर कांग्रेसको पूर्व आमन्त्रित केन्द्रीय सदस्य समेत हुन् । उपमेयरमा कांग्रेसले सरस्वती गुरुङलाई उम्मेदवार बनाएको छ । गुरुङ कांग्रेसको कृयाशिल सदस्य हुन् भने पोखराबाट प्रशारण हुने रेडियो अन्नपूर्णकी बरिष्ठ प्रस्तोता तथा पोखराबाटै प्रकाशित हुने कास्की आवाज दैनिककी अध्यक्ष हुन् ।
एमालेले मेयरमा मानबहादुर जिसी र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ । एमालेका मेयर उम्मेदवार मानबहादुर जिसी पार्टीमा वैकल्पिक केन्द्रीय सदस्य तथा कास्की इञ्चार्ज छन् । एमालेका मेयर उम्मेदवार मानबहादुर जिसी पार्टीमा वैकल्पिक केन्द्रीय सदस्य तथा कास्की इञ्चार्ज छन् ।
माओवादी केन्द्रले विश्वप्रकाश लामिछानेलाई मेयरमा र गोमा ढकाललाई उपमेयरमा उम्मेदवार बनाएको छ । लामिछाने पार्टीका केन्द्रीय कार्यालय सदस्य हुन् । ०२२ सालमा जन्मिएका लामिछानेले विद्यार्थी राजनीतिबाटै पार्टीको मूलधारमा फड्को मारेका हुन् । केही वर्षअघि फेवाताल संरक्षण समितिको संयोजक रहेका उनी पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष समेत हुन् । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनी नगर विकास समितिका अध्यक्ष बनेका थिए ।
केन्द्रले उपमेयरमा पर्यटन व्यवसायी गोमा ढकाललाई उम्मेद्वार बनाएको छ सामुदायिक सेवा केन्द्र बैदामका पूर्व अध्यक्ष ढकाल पनि केन्द्रका केन्द्रीय कार्यालय सदस्य हुन् । मेयरमा राप्रपाले गीता गुरुङ र उपमेयरमा रमेशबहादुर खत्रीलाई उम्मेदवार बनाएको छ । संघीय समाजवादी र नयाँ शक्तिले संयुक्त रुपमा मेयरमा हुम गुरुङ र उपमेयरमा लक्ष्मी खातीलाई उम्मेदवार बनाएको छ । संघीय समाजवादी फोरम र नयाँ शक्तिको तालमेलबाट मेयरको उम्मेदवार बनेका हुमबहादुर गुरुङ पार्टीमा तमुवान संयुक्त संघर्ष समितिका संयोजक छन् । अखण्ड नेपालबाट माती गिरी, नेकपा मालेबाट टेकनाथ भण्डारी, नेकपा संयुक्तबाट प्रेमकाजी गुरुङ, परिवार दलबाट कल्पना बराल, राष्ट्रिय जनमोर्चाबाट चन्द्रबहादुर केसी, पूर्व राष्ट्रसेवक लोकतान्त्रिकबाट मधुकर न्यौपाने, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट ऋषिप्रसाद तिमिल्सनालेले मेयरमा उम्मेदवार दिएका छन् । स्वतन्त्र रुपमा अमनविक्रम थापा, रेशम पन्थी, भीमबहादुर श्रीस, पदमबहादुर गुरुङ र महेन्द्रकुमार थापाले मेयरमा उम्मेदवारी दिएका छन् ।
कास्की जिल्लामा २ लाख २४ हजार ८ सय ११ जना मतदाता छन् । १ सय ५० मतदान स्थलमा २ सय ८८ मतदान केन्द्र रहेका छन् । कुल मतदाता मध्ये महिलाको संख्या १ लाख २० हजार २ सय ३० रहेको छ भने पुरुषको संख्या १ लाख ४ हजार ५ सय ७६ रहेको छ । कास्कीका स्थानीय तहबा प्रमुख ५, उपप्रमुख ५, वडाअध्यक्ष ७२, वडा सदस्य २ सय ८८ गरि जम्मा ३ सय ७० जना निर्वाचित हुनेछन् । नगर र गाउँ सभाभाट ११ सदस्य निर्वाचित भएपछि कास्कीका स्थानीय तहमा ३ सय ८१ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
तस्वीर सौजन्य ः पिस पोखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *