ट्राफिक सप्ताह २०७५ रेक्रस सोसाइटी पोखरा १० को सचेतना कार्यक्रम

नेपाल रेडक्रस सोसाइटी उपशाखा १० ले ट्राफिक सप्ताह २०७५ को अवसरमा रेडक्रस जिल्ला शाखा कास्की र ट्राफिक प्रहरी कार्यालय कास्कीको सहयोगमा रामघाट पोखरामा एक दिवसीय ट्राफिक सचेतनामूलक कार्यक्रम गरेको छ ।

कार्यक्रम उपशाखा १० का सभापति सम्मरबहादुर श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा जिल्ला शाखा कास्कीका उपसभापति कृष्ण तिमिल्सिना, ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ऐनबहादुर मल्ल, प्रहरी नायब निरीक्षक राजकुमार केसी, प्रहरी नायब निरीक्षक शिवबहादुर थापा, रेडक्रस सोसाइटी उपशाखा १० का विशिष्ट सदस्य टुकाराम लामिछाने, सदस्य एवं स्काउट मास्टर कृष्णकुमार राजबाहक, महिला लैंगिक समिति सदस्य हरिमाया भुजेल, उपशाखा १४ का सहसचिव पदमबहादुर कार्की, उपशाखा १२ का सदस्य डण्डपाणि पौडेल, रामघाट आमा समूहकी अध्यक्ष अनिता तिमिल्सिना, लगायत विभिन्न आमा समूहहरू कार्यसमितिका पदाधिकारी एवं सदस्यको उपस्थिति थियो ।

कार्यक्रममा विशिष्ट सदस्य टुकाराम लामिछानेले सवारी दुर्घटना न्यूनीकरणमा गाडी चालक, सडकको अवस्था, सवारी साधन, यात्रु र पैदलयात्री लगायतको भूमिका रहने बताए । ‘सानो कमी कमजोरीबाट पनि ठूलो दुर्घटना हुन सक्छ र दुर्घटना पछि पछुताउनुबाहेक केही हुँदैन,’ उनले भने, ‘परिवारको खुसी खोसिने, परिवार विचलित, अस्तव्यस्त हुन्छ ।’
आमा समूहकी अध्यक्ष अनिता तिमिल्सिनाले दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने र यात्रुहरू र पैदलयात्रीहरू होसियार हुनुपर्ने खाँचो औंल्याइन् ।

रेडक्रस जिल्ला शाखा कास्कीका उपसभापति एवं कृष्ण तिमिल्सिनाले रेडक्रसले सवारी दुर्घटना न्यूनीकरण कार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीसँग सहयोगी संस्थाको रूपमा हातेमालो गर्दै आएको बताए । ‘सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले मात्र सम्भव हुँदैन, सवारी चालक, यात्रु र पैदलयात्रीले ट्राफिक नियमको पालना गर्नुपर्छ,’ उनले भने ।

रेडक्रस उपशाखा १० का सभापति सम्मरबहादुर श्रेष्ठले सवारी दुर्घटना न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने कार्यक्रममा सिकेका कुराहरू घर परिवारमा सिकाउनुपर्ने पैदलयात्रीले दायाँ बायाँ हेरेर बाटो काटनुपर्ने, चालकले तोकिएको ठाउँमा मात्र सवारी चढाउने र झार्ने, यात्रु नआत्तिकन चढ्ने र झर्ने सबैले ट्राफिक नियम पालना गरे दुर्घटना न्यूनीकरण गर्न सकिने जानकारी गराए ।

कार्यक्रममा प्रशिक्षक जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक राजकुमार केसीले दिन प्रतिदिन सवारी साधनको चाप बढिरहेको, सडकको क्षमता विस्तार हुन नसकेको सुनाए । उनले सवारी चालक, सडकको अवस्था सुधार, यात्रु र पैदल यात्रु होसियार हुन नसक्दा दिन प्रतिदिन सवारी दुर्घटना बढिरहेको बताए । उनले प्रोजेक्टरमार्फत हाल भइरहेको दुर्घटनाको अवस्था दुर्घटनाको कारण र कसरी दुर्घटना कम गर्न सकिन्छ भन्ने सम्बन्धमा प्रस्तुति दिएका थिए ।

प्रत्येक वर्ष विश्वमा १३ लाख मानिसको मृत्यु हुने गरेको २ करोड ५० लाख मानिस घाइते र अंगभंग हुने केसीले सुनाए । नेपालमा दैनिक ६ जनाको मृत्यु, १५ जना घाइते र अंगभंग २५ जना सामान्य घाइते हुने र वार्षिक ५० हजारजना घाइते र अंगभंग भइरहेको जानकारी केसीले गराए । विकासोन्मुख राष्ट्रमा सवारी दुर्घटना बढी हुने उनले सुनाए । नेपालमा मोटरसाइकल र स्कुटीबाट ३६ प्रतिशत दुर्घटना भइरहेको तथ्यांक पनि उनले राखे । ‘१६ देखि ४४ वर्ष उमेरका चालकबाट धेरै दुर्घटना भइरहेका छन्,’ उनले भने ।

सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी ऐनअनुसार चालक अनुमतिपत्र प्रदान गर्ने, सडकको अवस्था सुधार गर्ने, सवारी साधनलाई मर्मत गर्ने, ट्राफिक संकेतहरू राख्ने, छतमा यात्रा नगर्ने नगराउने आवश्यकतामा उनले जोड दिए । ‘जथाभावी सवारी साधान नरोक्ने, निश्चित ठाउँमा गाडी रोक्ने, यात्रु चढाउने र झार्ने गर्नुपर्छ,’ उनले भने, ‘चौपाया सडकमा नछाड्ने, ओभर ट्रेक गर्दा साइड हेरेरमात्र गर्ने गर्नुपर्छ ।’

ट्राफिक सप्ताह अन्तर्गत उपशाखा १० ले ७ दिनसम्म तालिम प्राप्त स्वयं सेवकहरूबाट अमरसिंह चोकमा ४ बजेदेखि ५ः३० सम्म पर्चा, पम्पलेटसहित पैदल यात्रीलाई सडक पार गर्दा जेब्राक्रसबाट हिँड्न सिकाएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपशाखाकी कोषाध्यक्ष सीता तिमिल्सिनाले, रेडक्रसका ७ सिद्धान्त बाचन पदमबहादुर कार्कीले गरेका थिए । कार्यक्रम सञ्चालन उपशाखाकी सहसचिव कलावती शर्माले गरेकी थिइन् ।