टिपीएस सुविधा खारेज, अमेरिकामा रहेका झन्डै नौ हजार नेपाली फर्कनुपर्ने

अमेरिकाले नेपालीलाई दिएको टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपीएस) अर्थात् अस्थायी संरक्षण हैसियत सुविधा खारेज गरेको छ । टिपिएस सुविधा खारेज भएपछि अमेरिकामा बस्दै आएका झन्डै ९ हजार नेपाली स्वेदश फर्काइने भएका छन् ।

वि.सं २०७२ सालको विनाशकारी भूकम्पयता नेपालको समग्र मानवीय अवस्था स्थिर बनेको मूल्याङ्कन गर्दै अमेरिकी सरकारले टिपिएस सुविधा खारेज गर्ने निर्णय गरेको हो । वैशाख १३ गते अमेरिकाका आन्तरिक सुरक्षा मन्त्री किर्स्टेएन निएल्सेनले नेपालका लागि टिपीएस व्यवस्था समापन गर्ने निर्णय सुनाएका थिए । यो निर्णयसँगै १२ महिनाभित्र त्यहाँ रहेका नेपालीले अमेरिका छाड्नुपर्नेछ ।

नेपालस्थित अमेरिकी राजदुताबासले जारी गरेको विज्ञप्ती अनुसार अब नेपालका लागि टिपीएस व्यवस्थाको म्याद २०७६ असार ९ देखि (२४ जुन २०१९) समाप्त हुने भएको छ ।

चालु सशस्त्र द्वन्द्व, वातावरणीय प्रकोप वा अन्य असाधारण तथा अस्थायी अवस्था झेल्ने देशका योग्य नागरिकलाई त्यस्तो परिस्थितिका कारण प्रदान गरिने अस्थायी आप्रवासनको हैसियतलाई टिपीएस भनिन्छ ।

२०७२ असार ९ गते अमेरिकी आन्तरिक सुरक्षा मन्त्रालय (डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी) ले २०७२ वैशाख १२ र वैशाख २९ गतेका भूकम्पका कारण विस्थापित भई अमेरिकामा रहेका नेपाली नागरिकलाई अस्थायी संरक्षण हैसियत टिपिएस प्रदान गर्ने घोषणा गरेको थियो ।

२०७२ सालको भूकम्पपछि दातृनिकायमध्ये अमेरिकाले अगुवाइ गर्दै नेपाललाई पुनरुत्थान र सुरक्षित पुनर्निर्माणमा सघाउने प्रतिबद्धताका साथ हालसम्म १९ करोड अमेरिकी डलरको अनुदान भूकम्पीय राहत, पुनरुत्थान तथा पुनर्निर्माण सहयोग स्वरूप प्रदान गरेको छ ।

नेपालको पुनर्निर्माणका लागि २०७२ असारमा आयोजित अन्तर्रा्ष्ट्रिय सम्मेलनमा अमेरिकाले १३ करोड डलरको प्रारम्भिक प्रतिबद्धता व्यक्त गरेको थियो । नेपालसँगको दीर्घकालीन साझेदारीप्रति प्रतिबद्ध हुनुका साथै अमेरिका नेपाललाई बलियो, सक्षम साझेदारमा रूपान्तरित गर्नका लागि दिगो प्रयत्नमा लगानी गर्नमाथि केन्द्रित छ ।