ज्योति मगर संगै झुमे पोखरा महोत्सवमा उपस्थित दर्शक

पोखराको अमरसिंह चौरमा जारी आठौ संस्करणको पोखरा महोत्सवको तेश्रो दिन चर्चित गायिका ज्योती मगरले दर्शकलाई आफ्नो प्रस्तुतीमार्फत मनोरन्जन प्रदान गरिन । ज्योती मगरले सुर्खेत बुलवुल ताल बाट आफ्नो प्रस्तुती सुरु गरी उही मुलाको सिन्की उहीमुलाको चाना, ढाडे विरालो, जाले रुमाल सोल्टीलाई बैना भो, जिम्मल बाउकी छोरी, लगायतका प्रस्तुतीहरु प्रस्तुत गरिन । हट गायिकाको रुपमा चिनिने ज्योती मगरले आफ्नो प्रस्तुती दिइरहदा महोत्सवमा उपस्थित दर्शकहरुले संगै गित गाउदै नाचेर साथ दिएका थिए । ज्योती मगर संगै चर्चित लोकदोहोरी गायक कुमार पुन, प्रजापति पराजुली, शिवहरी ढुंगाना लगायतले लोकदोहोरी मार्फत महोत्सवमा उपस्थित दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।

महोत्सवको तेश्रो दिन एक करोडको ब्यापार गरेको महोत्सव अर्थ तथा स्टल ब्यवस्थापन उपसमिती संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । तिमिल्सिनाका अनुसार महोत्सवको तेश्रो दिन १८ हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन । महोत्सवमा विशेष गरी जाडो मौसममा प्रयोग हुने घरायसी सामाग्रीहरुको बिक्री भएको आयोजकले जनाएको छ । महोत्सवको चौथो दिन तरेली सांस्कृतिक परिवारको तर्फबाट विभिन्न सांस्कृतिक कार्यक्रमहरु सञ्चालन हुनेछनभने चर्चित लोकदोहोरी गायक मिलन लामा, प्रजापति पराजुली, जीवन दाहाल, तारापति सुवेदी, शिवहरी ढुंगाना, नर बहादुर राना, चन्द्रा काकी र दिलु लामा लगायतको प्रस्तुती रहने छ भने लाइभ ब्याण्ड तर्फ सुगम पोख्रेल एण्ड भिक्ट्रीको प्रस्तुती रहने छ ।

महोत्सवमा हात्ती चढेर महोत्सवको प्रत्यक्ष अवलोकन गर्नेको समेत भीड लाग्नुका साथै महोत्सवको आयोजना गरी पोखराको लेखनाथ स्थित पचभैयामामा निर्माणाधिन अवस्थामा रहेको चिडियाखानाको स्याण्ड मोडेलले दर्शकको ध्यान केन्द्रित गरेको महोत्सव सचिवालय उपसमिती संयोजक तथा क्लवका द्धितिय उपाध्यक्ष लोक बहादुर थापाले जानकारी दिए । महोत्सवमा पहिलोपटक आयोजित चार नम्बर प्रदेश स्तरिय लोकदोहोरीगीत प्रतियोगितामा शनिवार कास्की र नवलपुर, लम्जुङ र पर्वतका वीच प्रतिस्पर्धा रहेको थियोभने आइतबार तनहु र स्याङजाले आफ्नो प्रस्तुती प्रस्तुत गर्नेछन ।

महोत्सवकै स्टेजमा दुुई दृष्टीविहन छात्रालाई छात्रवृत्ति कोष हस्तान्तरण

यसैविच महोत्सवको तेश्रो दिन शनिवार महोत्सव स्टेजबाटै दुइजना दृष्टीविहीन छात्राहरुलाई छात्रवृद्धि कोष प्रदान गरिएको छ । महोत्सव आयोजक युनाइटेड क्लवले पृथ्वीनारायण क्याम्पस स्नातक तह दोश्रोमा अध्ययनरत दृष्टीविहन छात्राहरु कविता आचार्य र चिजा गिरीलाई एक वर्षको अध्ययनमा सहजीकरण गर्नका लागी छात्रवृत्ति कोष हस्तान्तरण गरेको हो । वडा प्रहरी कार्यालय राम बजारका प्रमुख प्रहरी निरीक्षक दिपक बहादुर केसी, क्लवका अध्यक्ष सुक बहादुर गुरुङ, प्रथम उपाध्यक्ष तथा शिक्षा उपसमिती संयोजक लालकाजी गुरुङ, क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल, सल्लाहकार शुसिलराज पराजुली, लगायतले संयुक्त रुपमा छात्रबृद्धि कोषका लागी रकम प्रदान गरेका थिए ।

छात्रबृछि कोष प्रदान गर्दै क्लवका महासचिव राजु श्रेष्ठले क्लवको उद्देश्य अनुसार शिक्षा कार्यक्रम अन्तर्गत पृथ्वी नारायण क्याम्पसमा अध्ययनरत दुइ जना छात्राहरुलाई अध्ययनमा सहयोग पुगोस भन्ने उद्देश्यले छात्रवृद्धि अक्षयकोष हस्तान्तरण गरेको वताए । क्लवले प्रत्येक वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, सेती नदी, संरक्षण, सौर्यबत्ती जडान र पोखरामा चिडियाखाना निर्माणका लागी सहयोग रकम हस्तान्तरण गर्दै आइरहेको छ । महोत्सवको तेश्रो दिन सम्म आइपुग्दा महोत्सव शान्तिपूर्ण ढंगबाट सञ्चालन भइरहेको र महोत्सवले समग्र पोखराको महोत्सव र त्यसमा पनि दर्शकलाई नै महोत्सवको माध्यामबाट सामाजिक कामबाट तिरेको रकम फिर्ता हुने भएकाले दर्शकहरुले पोखरा महोत्सवलाई रुचाएको क्लवका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितीका संयोजक सुक बहादुर गुरुङले वताए ।