सकारात्मक ‘माउथ पब्लिसिटि’ र बिदाको दिन परेकोले शनिबार फेस्टिभलमा दर्शकको संख्या निकै बाक्लो देखिएको आयोजकले बताएको छ ।‘शनिबार देखिएको दर्शकको सँख्या ऐतिहासिक हो । तेस्रो सँस्करणसम्म आईपुग्दा यस्तो खाले भीड पहिला कहिल्यै देखिएको थिएन ।’ आयोजक परिचय नेपालका अध्यक्ष सोभित बस्यालले भने–‘जंगलमा देखिएको भीडले हामीलाई थप हौस्याएको छ ।’ खासगरि बालबालिकाहरु बढि रम्ने भएकोले उनीहरुको साथमा अभिभावक र परिवारका अन्य सदस्यहरु पनि एकैसाथ आएकोले दर्शकको सँख्या निकै बाक्लो भएको आयोजकले अनुमान लगाएको छ ।
सबैखाले दर्शकलाई लक्षित गरि जंगल फेस्टिभलमा विभिन्न आकर्षण
हरु राखिएका छन् । त्यो सँगै मनोरञ्जनात्मक कार्य
क्रमहरुमा पनि दर्शकको सँख्या निकै बाक्लो देखिएको छ । जंगलमा निर्माण गरिएका विभिन्न आकृतिलाई पृष्ठभुमी पार्दै सेल्फी खिच्नेहरु पनि जंगलमा प्रशस्तै भेटिन्छन् । जंगल फेस्टिभलमा मनोरञ्जनात्मक कार्यक्रमहरु पनि ‘जंगल थिम’ अनुसारकै राखिएको छ ।
शनिबार ‘स्नेकम्यान’को प्रस्तुतीले धेरै दर्शकको ध्यान खिच्यो । वास्तविक सर्पलाई फरक शैलीले नचाउन खप्पिस स्नेकम्यानको प्रस्तुतीमा धेरै दर्शकले जिब्रो टोके । उनले आइतबार पनि आफ्नो प्रस्तुतीलाई निरन्तरता दिँदैछन् । त्यस्तै जंगलभित्रै नाटक ‘भट्टीका सपना’ समेत मञ्चन भएको थियो । बेरोजगार यूवाहरुको जीवनशैलीलाई उतारिएको नाटकलाई पनि दर्शकले खुब रुचाए । साँझपख भएको फेशन शो को रौनकले त झन् दर्शकलाई खुब छोयो ।
शनिबार फेस्टिभलमा साँगीतिक कार्यक्रमतर्फ आस्था राउतले दर्शकलाई खुब नचाईन् । विश्वकै होचा व्यक्तिमध्ये एक खगेन्द्र थापामगरको खुकुरी डान्समा पनि दर्शक रमाए । जादुगर सम्राटको प्रस्तुतीले दर्शकको ध्यान खिच्यो । त्यो सँगै अन्य थुप्रै प्रस्तुतीमा दर्शक रमाएका देखिन्थे ।आईतबार जंगल फेस्टिभलको चौथो दिन दिपकराज गिरी र दीपाश्री निरौलाको प्रस्तुती विशेष रहने आयोजकले बताएको छ । दर्शकले आईतबार यो जोडीको विशेष हाँस्य प्रस्तुती हेर्न पाउनेछन् । त्यो सँगै गायक रामजी खाँड र योगेश काजीको प्रस्तुती पनि धमाकेदार रहने आयोजकले बताएको छ । जंगलमा भएका अन्य आकर्षणहरु पनि यथावत रहने आयोजकले बताएको छ ।
जंगलभित्र घोडा र ऊँट चढेर रमाउने दर्शकहरु पनि प्रशस्तै देखिन्थे । राउटे र कुसुन्डा जातिको बारेमा जानकारी लिनेहरु पनि जंगलभित्र आईरहेका छन् । मनोरञ्जनसँगै केहि सिक्ने मौका पनि पाउने भएकोले जंगल फेस्टिभलप्रति बौद्धिक दर्शकहरुले पनि उत्तिकै चासो व्यक्त गरेका छन् । जंगल फेस्टिभल फागुन २१ गतेसम्म चल्नेछ ।
Leave a Reply