चोक–चोकमा बुटिक  

चोक–चोकमा बुटिक  
0Shares
एक दशकअघिसम्म पोखरेलीहरू आफूलाई मन पर्ने र चाहेको जस्तो डिजाइनका लुगा किन्न काठमाडौँ धाउँथे। पोखरेलीलाई बुटिकबारे उतिसारो मेलोमेसो थिएन। अब समय बदलिएको छ। पोखराका चोक–चोकमा खुलेका बुटिकले काठमाडौँ जानैपर्ने बाध्यता हटाइदिएका छन्। फेशनपारखीलाई अहिले रोजेजस्तो र खोजेजस्ता डिजाइन पोखरेली बुटिकले नै तयार पारिदिन्छन्।
पोखरामा बुटिक भन्नेबित्तिकै सविता शेरचनको नाम अगाडि आउँछ। जापानमा करिब एक दशक बसेर फर्किएकी उनी पोखराको फेशन डिजाइनिङ कलेज आईईसीबाट फेशन डिजाइनिङमा डिप्लोमा कोर्स गरेपछि बुटिकतिर लागेकी हुन्। २०६१ मा उनले स्याभी फेशन होम बुटिक खोलिन्। सुरुमा बुटिक खोल्दा सिलाइ केन्द्र भनेर खिसी गर्ने धेरै भएको सविता बताउँछिन्। त्यसै वर्ष गुन्यूचोलो, डोनाज कलेक्सन र ब्लुमिङ बुटिक पनि खुले। अहिले पोखरामा बुटिक खोल्ने लहर नै चलेको छ। पोखराका गल्ली–गल्लीमा बुटिक खोलिएका छन्। आजभोलि धेरैले बुटिककै पहिरन लगाउन थालेको स्याभी फेशन होमकी सविता शेरचन बताउँछिन्। ‘सुरुमा बुटिकलाई सिलाइ केन्द्र मान्दै खिसी गर्नेहरू नै आजभोलि नयाँ–नयाँ पहिरनको लागि आफैँ बुटिक धाउँछन्,’ उनी भन्छिन्।
छ्याप्छ्याप्ती खुलेका बुटिकले हरेकको चाहनालाई पूरा गरिदिएका छन्। अझै पनि खुल्ने क्रम जारी छ। ऋतु रानाभाटलाई नयाँ–नयाँ फेशनमा रमाउने उनको रुचिले बुटिक व्यवसायी बनायो। ‘फेशन मेरो रुचि हो,’ तीन महिनाअघि सानिमा फेशन होम खोलेकी उनी भन्छिन्,’ व्यवसाय पनि हुने इच्छा पनि पूरा हुने।’ बिस्तारै बढ्दै गएको ग्राहकको चापबाट उनी खुशी छिन्।
एक दशकअघि चिप्लेढुंगामा गुन्यूचोलो बुटिक खोलेकी सुषमा पाण्डेले परम्परागत पहिरन पनि तयार पार्छिन्। उनको बुटिकमा हरेक उमेर समूहका ग्राहकको भीड देखिन्छ। ‘पोखरामा परम्परागत पोशाक सिउने खासै कोही थिएन। मैले बुटिकमा परम्परागत पोशाकलाई बढी जोड दिएँ,’ सुषमा भन्छिन्, ‘हामीले विदेशमा समेत आफ्ना डिजाइन पठाउँछौँ।’
बुटिक खोल्ने लहरले पोखराका तन्नेरी पुस्तालाई पनि उत्तिकै छोएको छ। एक वर्षअघि इन्दिरा लामिछानेले पनि न्यूरोड नजिकै घुम्टो बुटिक खोलिन्। पोखराकै एक बुटिकमा काम गरेपछि आफ्नै व्यवसाय गर्दा सहज हुन्छ भनी आफूले यसमा हात हालेकी उनी बताउँछिन्। ‘राम्रो डिमान्ड आइरहेको छ। मेरो काम गर्ने जाँगर बढेको छ,’ उनी भन्छिन्। पोखरामा आयोजना हुने फेशन शो, मोडलिङ, सुन्दरी प्रतियोगिताले बुटिकको लोकप्रियतालाई थप बढाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *