घान्द्रुकका दलितलाई क्षमता अभिवृद्धि तालिम

0Shares

छवि मगर

पोखरा, २८ भदौ |

दलित वर्ग उत्थान समन्वय समिति घान्द्रुकको आयोजनामा दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । समितिले भदौ २५ र २६ गते दलित समुदाय लक्षित तालिम चलाएको हो । तालिममा घान्द्रुकका ९ वटै वडाबाट करिब ५० जनाको सहभागिता थियो ।
तालिममा पत्रकार दीपक परियारले सहजीकरण गरेका थिए । उनले सकारात्मक सोच, व्यक्तित्व विकास, उद्घोषण र भाषणकलाका विषयमा सहभागीलाई प्रशिक्षण दिए ।

तालिमको उद्घाटन गर्दै घान्द्रुक गाविस सचिव अर्जुनप्रसाद भण्डारीले व्यक्तिको क्षमता विकासमा तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले तालिममा सिकेका कुरालाई आफ्नो जीवनव्यवहारमा लागु गर्न सके मात्रै औचित्य रहने विचार व्यक्त गरे । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय घान्द्रुकका प्रमुख आनन्द सुवेदीले सबैसँग आफ्नै प्रकारका खुबी हुने भएकोले त्यस्तो खुबीलाई प्रस्फुटन गर्न हिच्किचाउन नहुने बताए । उनले भने, ‘सृजनात्मक बन्न सके अवश्य प्रगति गर्न सकिन्छ ।’ उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस घान्द्रुक सभापति जगनबहादुर गुरुङ, फुम्रोखु बराह माविका अध्यक्ष डम्मरबहादुर विक, समितिकी सल्लाहकार एवं लालिगुराँस बचत तथा ऋण समूह किम्चेकी अध्यक्ष विद्या विक, दलित वर्ग उत्थान समन्वय समिति सल्लाहकार तिलबहादुर गुरुङ लगायतले बोलेका थिए ।

कार्यक्रमको अवसरमा दलित समुदायको उत्थानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै किम्चे–चाने–फुलिवाङ कृषि सडक अध्यक्ष अर्जुन विक, फुम्रोखु बराह मावि अध्यक्ष डम्मरबहादुर विक, जनप्रेमी निमावि अध्यक्ष चन्द्रबहादुर विक, कुर्लुङ बराह प्रावि अध्यक्ष सीमा सुनार, जनसेवा प्रावि फुलिवाङकी अध्यक्ष सुष्मा विक, लालिगुराँसा बचत तथा ऋण समूह सचिव खिमप्रसाद नेपालीलाई समितिले सम्मान गरेको थियो ।
तालिम समापन कार्यक्रममा प्रशिक्षार्थीद्वय नुमा विक र राजु नेपालीले तालिम उपलब्धिमूलक भएको बताए । समितिका कोषाध्यक्ष अर्जुन विकले कार्यसमिति सदस्यहरुले रकम संकलन गरेर तालिमको आयोजना गरेको जानकारी दिए । तालिमको समापन गर्दै दलित वर्ग उत्थान समन्वय समिति घान्द्रुक अध्यक्ष चिजकुमारी परियारले विगतमा तीजमा दर खाने कार्यक्रम हुँदै आएकोमा यसपटक क्षमता अभिवृद्धि तालिम गरेको बताइन् । उनले दलित समुदायलाई समाजमा स्थापित गर्न तालिमले सहयोगी भूमिका खेल्ने आशा गरिन् । उद्घाटन र समापन कार्यक्रमको सञ्चालन खिमप्रसाद नेपालीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *