घरधनिको दादागिरी

भीमसेन घिमिरे

14203141_653740988113766_8865436858547815899_nझकिझकाउ पसल, सधैं ग्राहकको भिड, राम्रो आम्दानी, दुइचार लाख बैंकमा मौज्दात ! अचेल घरधनि र व्यवसायीको विवादको मुल कारण बन्दैछ माथीका बिम्बहरु ।व्यवसायीले आफ्नो व्यवसायबाट गति लिन थालेपछि दुवै पक्षबीच विवादको सुरुवात हुने गर्छ । त्यसपछी घरधनिले दुई पक्षबीच भएका सहमती र संझौताको बर्खिलाप गर्दै एकतर्फी निर्णय गरी व्यवसायीलाई दुःख दिन सुरु गर्छन् ।

अचेल घरबहालमा बस्ने र दिने बिच सौहार्दपूर्ण सम्बन्ध हुनुपर्नेमा एकअर्काबिच सधैं आरोप र प्रत्यारोप हुने गर्छ । कति कुरा घरधनिलाई मन पर्दैन भने कति कुरा घरधनिले ज्यादती गरेको व्यवसायी बताउँछन् ।

पोखरा प्राकृतिक रुपमा जति आर्कषक छ, यहाँका संरचनाहरुले घुमन्तेहरुलाई जति मोहित पार्छन्, त्यति यहाँका घरधनिको व्यवहार निरस र कहालीलाग्दो बन्दै गएको छ । लाखौंको लगानी गरी यहि केही गरौं भन्ने युवाहरु घरधनिका कारण आफ्नो पेसा र व्यवसायबाट पलायन हुन बाध्य भएका छन् ।

व्यवसायीलाई पलायनबाट रोक्न पोखरा उद्योग वाणिज्य संघले के गर्दै छ भन्ने जिज्ञासामा संघका अध्यक्ष विन्दुकुमार थापा भन्छन्–“हामीले महासचिवको संयोजकत्वमा सहयोग कक्ष स्थापना गरेका छौ र त्यसले घरधनि र बहालमा बस्नेको विवाद मिलाउँदै आएको छ ।”

आफ्नो लाखौंको लगानी, पेष्की स्वरुप लाखौं रुपैयाँ अग्रिम भूक्तानी र महिनैपिच्छे बहाल तिर्दा पनि बहालवाला घरधनिका सामु निरिह प्राणी बन्नु परेको छ । ऊ घरमालिकका आँखामा घृणित तथा दयाका पात्र बन्नुपर्ने अवस्था छ । यहाँका घरधनिहरु मानविय संवेदना पैसामा सटही गरिरहेका छन् । जो हृदयद्धारा होइन पैसाद्धारा बाँच्दछन् । जसलाई सहयोग र सद्भावको अनिकाल परेको छ ।

कोठा, फल्याट वा घर बहालमा लिनुअघि नै प्राय घरधनिका यस्ता शर्त हुने गर्छन् जुन सुन्दा नै अच्चम लाग्छ ! केही शर्तहरु – निश्चित समयमा घरमा आइपुग्नुपर्ने, धेरै पाहुना ल्याउन नपाइने, बहाल महिना सकिने बित्तिकै दिनुपर्ने सुविधा अनिश्चित, कोठा पाउन सन्तानविहिन हुनुपर्ने । बहालमा महिला बसेका छन् भने पुरुषसाथी कोठामा ल्याउन नपाइने, पुरुष छन् भने महिला । यसले गर्दा आम युवायुवतीलाई सार्है पिडा दिएको छ । निम्न आय भएका तथा शहर अध्ययनको शिलशिलामा आउने युवायुवतीले आफ्नो प्रेमी वा प्रेमिकासंग मनखोलेर गफ गर्न, छुट्टी संगै विताउन एकदमै असहज बनाईदिएको छ । होटल तथा रेष्टुराँमा जाउ भने एक आर्थिक अभाव अर्को प्रहरीको चेकिङ्कको डर । अर्कोतर्फ आफ्ना दिदिबहिनीलाई पनि कोठामा ल्याउन समस्या भएको छ । कोठा पाउनलाई तल्लो जात अर्थात दलित नहुनुपर्ने । यहाँ तल्लो जात अर्थात दलितलाई कोठा दिन सकभर नपरेहुन्थ्यो जस्तो गर्छन घरधनिहरु ।

घरभाडा कर व्यवसायीले तिनुपर्ने– सुन्दै अचम्म लाग्ने यो बुँदा आम व्यवसायीको साझा समस्या हो । जसले घरधनिलाई बहाल तिर्छ त्यहि बहाल तिरेको १३ प्रतिशत रकम घर बहाल कर तिनुपर्छ व्यवसायीले । यो १३ प्रतिशत रकम घरधनिले तिर्नुपरे बहालमा थप १३ प्रतिशत वृद्धि गरि घरभाडा कर तिर्न लगाउँछन् ।

यहाँका घरधनिहरु मानविय संवेदना पैसामा सटही गरिरहेका छन् । जो हृदयद्धारा होइन पैसाद्धारा बाँच्दछन् । जसलाई सहयोग र सद्भावको अनिकाल परेको छ ।

यी र यस्तै शर्तहरु तेस्र्याएर बल्ल तल्ल घरधनिले कोठा, फल्याट तथा घर उपलब्ध गराउँछन् । घरधनिका पनि आफ्नो समस्या छन् तर बहालमा बस्नेको तुलनामा ती अपवाद हुन् । कोही घरधनिको व्यवहार यस्ता पनि हुन्छन् जो कोठा वा फल्याटमा को–को आए र गए भन्ने सम्मको चियोचर्चा गर्छन् । कोही यस्ता हुन्छन् जो बत्ती, पंखाको स्वीच अफ गर्न बिर्सदा पनि भाडामा बस्नेलाई थर्काउछन् । पानी, बत्तीको पैसा असुल गरिसकेपछि यो किचकिच गर्नुको कुनै अर्थ थिएन । कतिपय घरधनि बहालमा बस्नेको दैनिक ट्वाइलेट, कोठा, बाथरुम हेर्ने गर्छन । त्यस्तै गरि पार्किङ्कमा पनि त्यस्तै समस्या छ ।

घरधनिले बहालमा बस्नेसंग पनि चरम आर्थिक शोषण गरेका हुन्छन् । टिभी केवलको मासिक ३५० रुपैयाँ बुझाउनुपर्ने हुन्छ तर ३÷४ वटा कोठा भएको घरमा प्रत्येक कोठामा बस्नेलाई मासिक १५० लिएर केवल दिन्छन् र आफूले निशुल्क टि.भी. पनि हेर्छन । मासिक १०० देखि १५० असुली पनि गरिरहेका हुन्छन् । विजुलीको शुल्कमा पनि अवस्था उहि छ । विधुत प्राधिकरणले युनिट अनुसार न्युनतम शुल्क निर्धारण गरेको छ तर घरधनिहरु कसैले १३ रुपैयाँ प्रति युनिट, कसैले १५ त कसैले २० सम्म असुल्ने गरेका हुन्छन् । अझ कुनै–कुनै घरधनिहरु यस्ता भटेन्छिन् जहाँ बहालमा बस्नेले कुनै समस्या लिएर गएमा समाधान गर्दिनुको साटो तँलाई यहाँ मन नपरे अन्त जान्त ! तलाई मन नपरे अर्को आउँछ भनेर धम्की दिन्छन् । नत्र मेरो घरमा ताला लगाईदिन्छु समेत भन्न पछि पर्दैनन् । जसलाई सहनुको विकल्प बहालमा बस्नेसंग हुदैन ।

कहिलेकाँही घरधनिले खाली सटर बेचेर पनि बहालमा बस्नेसंग चर्को रकम असुल्ने गरेका छन् । बजारका घरधनीसंग अघोषित साठगाँठ गरी पुराना व्यवसायीलाई प्रताडित बनाएर नयाँ व्यवसायीलाई मोटो रकममा सटर बेच्छन । त्यसरी पनि पुराना व्यवसायीलाई हटाउन सकेनन् भने अस्वभाविक भाडा वृद्धि गर्छन् । कोही घरधनि यस्ता पनि हुन्छन् जो आफ्नो घरमा व्यापार गर्नेले राम्रो आम्दानी गरेमा इष्र्या समेत गर्ने गर्छन् । “यी र यस्ता समस्याबाट मुक्ति पाउन विस्वासै विस्वासको आधारमा हैन कि एग्रिमेन्ट गरेर मात्रै व्यवसाय गर्न र व्यवसायीले युनिटी देखाउन जरुरी रहेको थापा बताउँछन् ।”

महाभूकम्प र नाकाबन्दीपछि राज्यका सबैक्षेत्र तहसनहस भएका छन्, त्यो भन्दा व्यवसायी घरधनिको दादागिरीबाट आक्रान्त हुँदै आएका छन् । अचेल पोखरामा बहालमा बस्ने व्यवसायीलाई घरधनिले मान्छे नै गन्दैनन् । बहालमा बस्नेलाई निशुल्क वा धर्मशालामा राखेजस्तो व्यवहार गर्छन ।

यो समस्यामा प्रत्यक्ष सरोकार राख्ने राष्ट्रिय घरभाडा सरोकार समितिले के गर्दैछ भन्ने प्रश्र्नमा महासचिव कमलप्रसाद न्यौपाने भन्छन–“हामीले व्यवसायीलाई पलायनबाट रोक्न दुवै पक्षलाई मध्यस्थता गरि आपसी विवाद सुल्झाउने गछौं र कतिपय विवाद हाम्रै पहलमा पनि साम्य भएको छ ।”

घरधनि र व्यवसायी बीचको विवादहरु जिल्ला प्रहरी कार्यलय कास्की सम्म गएपनि यो प्रहरीको कार्यक्षेत्र भित्र नपर्ने हुनाले त्यहाँबाट प्र्र्र्र्र्रभावकारी रुपमा संवोधन भएको पाइदैन । त्यस्तै गरि यस मामलामा प्रत्यक्ष सरोकार राख्ने घरभाडा सरोकार समितिको पहल पनि पर्याप्त देखिदैन ।

तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको सरकारलाई सवोच्च अदालतले यस सम्बन्धी विवाद अन्त्य गर्न २०६६ सालमा कानुन बनाउन निर्देशन दिएको थियो । जसबमोजिम सरकारले घरधनि र बहालमा बस्नेहरुका लागी घरभाडा संहिता– २०७१ तयार पारेको छ । जुन पारित हुने क्रममा रहेको छ । यसमा घर धनि र बहालमा बस्नेका लागी अधिकार र शर्तहरु समावेश गरिएको छ । यस अनुसार घर धनिहरुले जतिबेला पनि बहालमा बस्नेलाई निकाल्न पाउनेछैनन्, न्यूनतम सुरक्षाको ग्यारेन्टी घरधनिहरुले गर्नूपर्छ, घरमा बस्नेहरुको विवरण नजिकैको वडा कार्यलय वा गाविसमा दर्ता गराउनुपर्नेछ । कर, सुरक्षा तथा सुविधाबारे संहितामा समावेश गरिएको छ, बहालमा बस्नेलाई घर धनिले नचाहिदो शर्त तेस्याउन नपाइने व्यवस्था छ ।

अब राज्यले संविधान कार्यान्वयनका लागी निर्माण गर्नुपर्ने कानुनसंगै घरधनि र बहालमा बस्नेबीचको विवाद अन्त्य गर्न समय सान्दर्भिक कानुनको निर्माण गर्नु अपरिहार्य भएको छ । घरधनिहरु पनि आफ्नो करौंडोको सम्पत्ति भएर पनि बहालमा बस्नेको सामु निरिह बस्नुपर्ने अवस्थाको अन्त्य र बहालमा बस्ने पनि सुरक्षित रुपमा बस्न पाउने व्यवस्थाको थालनीका गर्न जरुरत छ । राज्यले भबन निर्माणको प्रारम्भिक चरण देखिनै आवासीय र व्यवसायीक गरि निर्धारण गरेमा अहिले खवौं रुपैयाँ घरबहालबाट चुहावट भैइरहेको राजश्व पनि रोकिने छ । घरबहाल कर राजश्वको स्थायी मेरुदण्ड र दिगो स्रोत पनि हो । घर बहालमा बस्ने र घरधनि बिचको समस्या समाधानको लागी राज्यले कहिलेबाट सुरुवात गर्ने हो कुन्नी ?

 


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *