‘गुरुङ सँस्कृति प्रदेश नं. ४ को चिनारी’ प्रदेश प्रमुख कुँवर

प्रदेश नं ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले गुरुङ समुदायको पहिरन र उनीहरुको सँस्कृति चार नंं प्रदेशकै चिनारी भएको बताएका छन् । कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङ्जाकोटमा शनिबारदेखी सुरु भएको ‘२५६२ औं बुद्धजयन्ती मेला’ उद्घाटन गरेपछि बोल्दै प्रमुख कुँवरले यस्तो बताएका हुन् ।

‘चार नं. प्रदेश अरुभन्दा केही न केहीमा अगाडी नै छ, यसोभन्दा अरु रिसाउनुपर्ने कुनै कारण छैन’ उनले भने,‘यो प्रदेश धनी हुनुमा यहाँ रहेका विभिन्न जातजातिका सँस्कृति, तिनका कला र परम्परा प्रमुख कारण हुन् ।’

गुुुरुङ समुदायमा प्रचलित सँस्कृतिहरु पछिल्लो समय लोप हुँदै जानु प्रदेशकै लागि दुखद विषय भएको उनले सुनाए । गुरुङहरुको प्रचलित नृत्य घाटु लोप हुँदै गएकोमा समेत उनले चिन्ता व्यक्त गरे ।

‘२०३४ सालतिर म पृथ्वीनारायण क्याम्पसमा पढ्दा गुरुङ साथीहरुले गुरुङ समुदायको प्रचलित घाटु नृत्यबारे धेरै कुरा सुनाउँथे । मेरो मनमा सँधै एउटा लालचा सरि रह्यो । मलाई कुनै साथिले घाटु नाच देखाइदियोस्’ स्थानिय मिलन युवा क्लबको

आयोजनामा आयोजित मेलाको उद्घाटन कार्यक्रममा बोल्दै भने,‘तर, अहिलेसम्म मैले यो नृत्य हेर्ने अवसर पाएको छैन । यहाँ उपस्थित गुरुङ समुदायले घाटुको महिमा, त्यसको ओजको कदर गर्नुहुन्छ भने र हामी बाँचिएछ भने अर्को वर्ष घाँटु हेर्ने अवसर मिलोस् ।’

प्रमुख कुँवरले गाउँस्तरमै भए पनि युवा क्लबले लामो समयदेखी सँस्कृति थाम्ने काम गरेकोमा त्यसाको प्रशंसा गरे । ‘मलाई गुरुङको पहिरन लगाएर उनीहरुले गाउने गीत र नाचगान असाध्यै रमाइलो लाग्छ’ उनले भने । मेला उद्घाटन अघि प्रदेश प्रमुख कुँवरले सिताराम माध्यामिक विद्यालयको समेत उद्घाटन गरेका थिए ।

मेलामा प्रदेश प्रमुख कुँवरलाई क्लबका तर्फबाट भाङ्ग्रा लगाएर दोसल्ला ओडाइ सम्मान समेत गरिएको थियो । यस्तै उनलाई याङ्जाकोटका डाँडागाउँ, छापा, गैरीगाउँलगायतका आमा समूहले समेत सम्मान गरेका थिए । क्लबले प्रमुख कुँवरलाई मायाको चिनोस्वरुप रजत महोत्सवको लोगो अंकित कप र गुरुङ समुदायमा प्रचलित भेडाको उनबाट बनेको कम्मल दिएको थियो ।

मेला अवधीभर गाउँपालिका स्तरीय भलिबल, बास्केटबल, छेलो हान्ने लगायतका खेलकुदका कार्यक्रमहरु सञ्चालन हु्नेछन् भने प्रतियोगितात्मक रुपमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको क्लबका प्रमुख सल्लाहकार देवीजंग गुरुङले जानकारी दिए ।

मेलामा भलिबल र बास्केटबल प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमले क्रमशः ५५ हजार र ३३ हजार नगदका साथै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै नृत्य प्रतियोगितामा प्रथम द्धितिय र तृतियले क्रमशः ४० हजार, ३० हजार र २० हजार नगद पुरस्कार शिल्ड र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

गुरुङ जातिको बाहुल्य रहेको याङजाकोट गाउँ सदरमुकाम पोखराबाट १९ किलोमिटरको दुरीमा रहेको छ भने समुन्द्री सतहबाट १४५० मिटरको उचाईमा रहेको छ ।