गण्डकी प्रदेश प्रमुखद्वारा ल्होसारको शुभकामना

टुडे पोखरा संवाददाता
0Shares

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले तमु ल्होसार जस्ता राष्ट्रिय पर्वले भातृत्व, आवसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्ने गरेको बताएका छन् ।

तमु ल्होसार–२०७५ को अवसरमा आज आइतबार शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख कुँवरले यस्तो बताएका हुन् । नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको प्रदेश प्रमुख कुँवरले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

‘बहुजातिय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधता र यही विविधतायुक्त धार्मिक, साँकृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान दिएका छन्’ प्रदेश प्रमुख कुँवरले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ,‘तमु ल्होसारले पनि विविध धर्म र सँस्कृति मान्ने समस्त गण्डकी प्रदेशवासीहरुमा भातृत्व, आवसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्नेछ ।’

प्रदेश प्रमुख कुँवरले तमु ल्होसारको उपलक्ष्यमा गण्डकी प्रदेशमा रहनु भएका सम्पूर्ण गुरुङ समुदाय लगायत सबै दिदीबहिनी दाजुभाइप्रति सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भा एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।