पोखराप्लस संवादाता
पोखरा,कात्तिक
राज्यले भू–उपयोगी नीति कार्यान्वयन नगरेसम्म सहकारीमार्फत कृषकलाई व्यावसायिक बनाउन नसकिने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।रेडियो बाराहीले बुधबार आयोजना गरेको संवृद्धि बहस कार्यक्रममा बोल्ने वक्ताले खेतीयोग्य जमिन, घडेरी र कङ्क्रिटमा परिणत हुँदा उत्पादन हुने जमिन अभाव हुँदै गएको बताएका हुन् । पहिले रहेको अब्बल, दोयम, सिम र चाहारलाई सरकारले खेतीयोग्य, औद्योगिक, आवास, बजार क्षेत्र लगायतका क्षेत्रमा वर्गीकरण गरे पनि त्यसको व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन ।
कार्यक्रममा सप्तगण्डकी दुग्ध सहकारी संस्थाका अध्यक्ष पुण्य पौडेलले खेतीयोग्य जमिन जति सहरीकरण बन्ने र ग्रामीण इलाकाका जग्गा बाँझोमा परिणत हुँदा कृषक व्यावसायिकरुपमा अगाडि बढ्न नसकेको बताए । उनले कृषकलाई व्यावसायीकरण बनाउने हो भने राज्यले जमिन उपलब्ध गराएर अनुदान दिनुपर्नेमा जोड दिए ।
कास्कीमा मात्रै ५० हजारदेखि ६० हजार लिटर दूधको माग भए पनि दैनिक सहकारीहरुले ८ हजार र निजी क्षेत्रबाट ८ हजार लिटरमात्र दूध उत्पादन गर्दै आएका छन् भने बाँकी दूध भारतबाट आयात हुने गरेको छ । साथै स्विट्जरल्यान्डबाट पनि नेपालमा पाउडर दूध आउने गरेकाले अभाव पूर्ति हुने गरेको उनले बताए ।
उनले जुन कृषकले धेरै दूधसँगै दूग्धजन्य पदार्थ बिक्री वितरण गर्छ, उसलाई राज्यले अनुदान दिए कृषकलाई हौसला बढ्ने बताए ।
जिल्ला कफी सहकारी संघका अध्यक्ष आनन्द सुवेदीले कास्कीमा कफीका १४ वटा प्रारम्भिक सहकारी संचालन रहेको बताए । उनले कास्कीमा ३० टन कफी उत्पादन हुने गरेकोमा १८ टन सहकारीमार्फत् उत्पादन हुने गरेको जानकारी दिए ।
नेपालका ४० जिल्ला कफी खेतीका लागि योग्य भए पनि सम्बन्धित जिल्लाका कृषक अझै पनि व्यावसायिक बन्न नसकेको उनले बताए ।
जिल्ला कृषि सहकारी संघ, कास्कीका अध्यक्ष शिवजी कोइरालाले जमिन किन्ने र घडेरी बेच्ने परम्पराले व्यावसायिकरुपमा कृषक लाग्न नसकेको बताए । उनले कृषकलाई राज्यले जग्गा लिजमा दिएर खेतीमा आकर्षित गर्न सक्नुपर्नेमा जोड दिए ।
कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भीम गुरुङले कास्कीमा बचत तथा ऋण सहकारीमा १९ अर्बको लगानी भएको जानकारी दिए ।
यसमध्ये ८० प्रतिशत बचत तथा ऋणतर्फ र बाँकी कृषि तथा सहकारीमार्फत ऋण लगानी भएको बताए ।
सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका रविरमण तिवारीले जिल्लामा हाल ५ सय ९३ सहकारी संचालनमा रहेको जानकारी दिए । त्यसमध्ये ३ सय ४० बचत तथा ऋण सहकारी संचालनमा छन् । त्यस्तै बहुउद्देश्यीय २०, कृषि १ सय ३६, दूग्ध २२, उपभोक्ता २९, कफी १४ र अन्य २२ सहकारी संचालनमा छन् ।
सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका वरिष्ठ प्रशिक्षक बालकृष्ण सुवेदीले पर्याप्य पुँजीका कारण ६० प्रतिशत सहकारीमा क्रियाशीलरुपमा काम भएको र बाँकी सहकारीले पुँजी अभावमा सन्तोषजनक काम गर्न नसकेको बताए ।
रेडियो बाराहीले हरेक बुधबार सम्वृद्धि बहस कार्यक्रमअन्तर्गत सम्बन्धित क्षेत्रका विज्ञसँग उक्त कार्यक्रम गर्दैआएको रेडियो बाराहीका स्टेसन म्यानेजर गोविन्द सुवेदीले जानकारी दिए ।
Leave a Reply