अन्नपूर्ण गाउँपालिकास्थित वीरेठाँटी माध्यमिक विद्यालयका विद्यार्थीले दक्षिण कोरियाको सिओलमा चित्रकला प्रदर्शनी र साँस्कृतिक कार्यक्रम गर्ने भएका छन् । साँस्कृतिक कार्यक्रमका लागि विद्यालयले आन्तरिक स्रोतबाट संगीत प्रशिक्षक धनबहादुर गायकलाई नियुक्त गरेको छ ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापाले गायकलाई संझौतापत्र हस्तान्तरण गर्दै आफ्ना विद्यार्थीले कोरियामा चित्रकला सहित लोकबाजामा लोक धुन प्रस्तुत गर्ने भएकाले प्रशिक्षक धनबहादुर गायकलाई सारङ्गी, मादल र नृत्य प्रशिक्षणका लागि नियुक्त गरेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होशियारसिंह गुरुङले गाउँका विद्यार्थीले अन्तर्राष्ट्रिय रंगमञ्चमा आफ्नो प्रतिभासहित नेपाली भेषभूषा, लोकबाजा, धुन र नृत्य प्रस्तुत गर्दा नेपालकै गरिमा बढ्ने हुनाले निखार ल्याउनका लागि थप प्रशिक्षण आवश्यक रहेको जनाए ।
संगीत प्रशिक्षक धनबहादुर गायकले संगीत आफैमा अन्तर्राष्ट्रिय भाषा भएकाले, वीरेठाँटी स्कुलले दिएको जिम्मेवारीलाई सफल बनाउन आफू लागिपर्ने जनाए । कला प्रदर्शनी र साँस्कृतिक कार्यक्रमका लागि कोरिया जाने विद्यार्थीलाई निपूर्ण बनाउने मौका पाउँदा आफूलाई खुशी लागेको बताए ।
शिक्षक चन्दराज आचार्यले दक्ष संगीत प्रशिक्षक खोज्नु र पाउनु हाम्रो लागि गौरवको विषय बनेको छ । प्रशिक्षकले साताको १० घण्टा सारङ्गी र मादलमा लोक धुन र नृत्य सिकाउने हुँदा विद्यार्थीको क्षमता अभिवृद्धि हुनेछ जसले विदेशमा समेत नेपालको प्रतिष्ठा कायम रहने जनाए । आफैले बनाएका चित्रकला, नेपाली भेषभूषा, नेपाली बाजा, धुन र नृत्य सहित विद्यार्थीहरु नेपालबाट कोरिया जाने पहिलो समूह हुन् ।
१३ जना विद्यार्थीलाई चित्रकला सिकाउँदै आएका कोरियाली नागरिक क्यु खिउन किमले स्कुलको सिफारिशमा ८ जना विद्यार्थीलाई भदौको अन्तिम साता सिउलको लमेल आर्ट ग्यालरीमा प्रस्तुत गर्दै छन् । यिनै विद्यार्थीले तयार गरेका १ सय २० वटा चित्र कला सिओल पुगिसकेका छन् । नेपालको प्रकृति र संस्कृतिलाई विद्यार्थीहरुले कलामा उतारेका छन् । प्रदर्शनी आयोजनाको चाँजोपाँजो कला शिक्षक किमले नै मिलाएका हुन ।
सात दिनसम्म चल्ने उक्त कला प्रदर्शनीमा विद्यार्थी कलाकारले नेपाली लोकबाजामा लोकधुन, नृत्य र साँस्कृतिक कार्यक्रम देखाउने छन् । कोरिया जाने ८ विद्यार्थी र २ शिक्षकको ४० लाख भन्दा बढीको खर्च उम हङ्गगिल ह्युमन फाउण्डेसनले व्यहोर्ने छ ।
कोरियाली नागरिक उम हंगिलले विश्वका ८ हजार मिटर अग्ला १६ वटा हिमाल आरोहण गरिसकेका छन् । हंगिलले नेपालका ८ वटा हिमाल आरोहण गरी तिनै हिमवेशीमा ८ वटा स्कुल पनि बनाएका छन् । त्यसै अन्तर्गतको वीरेठाँटी स्कुलमा उम हंगिल ह्युमन फाउण्डेसन मार्फत् किमले कला शिक्षकका रुपमा स्वयम् सेवकको भूमिका निर्वाह गरेका छन् । किमले गत वर्ष हरेक विद्यार्थीका अभिभावकलाई खसीले मसी हुन्छ भन्दै १२ लाख बराबरको बाख्राका माउ वितरण गरेका थिए ।
Leave a Reply