कञ्चन टोलको सडक कालोपत्रे

पोखरा लेखनाथ महानगरपालिका वडा नं. १३, कञ्चनटोलको कालोपत्रे सडकको उद्घाटन गरिएको छ । एक समारोका बीच पोखरा वडा नं. १३ का अध्यक्ष दर्शन लामाले उद्घाटन गरे ।
बाटो कालोपत्रे गर्नको लागि टोलबासी डिल बहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति गठन गरिएको थियो । क्या. इन्द्र बहादुर गुरुङको संयोजकत्वमा ३ सदस्यीय अनुगमन समिति पनि रहेको थियो ।
सो अवसरमा संस्थाका कोषाध्यक्ष शेरजंग गुरुङलले बाटोको प्रतिवेदन पेश गरे । यही माघ ०१ गते सम्झौता भएको योजना करिव डेढ महिनाको अवधिमा कार्य समाप्त भएको कालोपत्र सडकको लम्बाई ५६४ मिटर रहेको छ भने चौडाई ६ मिटर रहेको छ । आ.व. २०७४÷७५ को वडा र नगर स्तरीय परिषद्बाट कुल बजेट छब्बिस लाख रहेकोमा ४० प्रतिशत जनसहभागिता र बाँकी ६० प्रतिशत वडा र नगर स्तरीयबाट उपलब्ध भएको थियो । २०६७ सालमा स्थापना भएका उक्त टोलमा हाल १३५ घरधुरी रहेका छन् ।
प्रमुख अतिथि लामाले सडक कालोपत्रे बनेपछि टोलको मुहार फेरिएको र सबैलाई सहज हुने बताए । लामाले विकास निर्माण गर्नको लागि अब पुरानो कुरालाई छोडेर नयाँ कार्य पद्धति तिर जान पर्दछ भन्दै अवको ३ वर्ष भित्र धुलोमुक्त बाटो निर्माण गर्ने, महिला स्वरोजगार गर्नको लागि सहयोग गर्ने उल्लेख गरे । उनले पोखरा वडा नं. १३ लाई पोखरा लेखनाथ महानगरपालिकाको वडाहरु मध्ये १ नम्वर बनाउने उद्देश्य राखेको जनाए । सो अवसरमा अनुगमन समितिका सदस्य तिलक बहादुर कार्की, कञ्चनटोलका पूर्व अध्यक्ष ऋषिराम सापकोटा, काहुँखोला टोल विकास संस्थाका सचिव माधव प्रसाद सिग्देल, निर्माण समितिको अध्यक्ष डिल बहादुर गुरुङ लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष क्या. इन्द्रबहाुदर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा निर्माण समितिका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । निर्माण समितिका सचिव वेल बहादुर वि.क. ले सञ्चालन गरेको कार्यक्रममा स्वागत सन्तोष शाहीले गरेका थिए ।