एमालेले चौथो वडामा प्यानल सहितको जित हात पारेको छ एमालेका लेख बहादुर तामाङ (दर्शन लामा ) सहितको प्यानल निर्वाचित

Today Pokhara
0Shares

पोखरा लेखनाथ महानगरको ३३ बडा मध्ये १३ वडाको अन्तिम नतिजा सार्वजनिक हुदा एमालेले चौथो वडामा प्यानल सहितको जित हात पारेको छ ।महानगरको १३ नम्बर वडामा एमालेका लेख बहादुर तामाङ (दर्शन लामा ) सहितको प्यानल निर्वाचित भएको हो । लामाले २६०६ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्दी कांग्रेसका बजिरमान श्रेष्ठले १६०८ मत पाए । तामाङले श्रेष्ठलाई ९९८ मत अन्तरले हराएका हुन् ।

पराजित कांग्रेस उम्मेदवार श्रेष्ठले नतिजा प्रकाशन हुनुपूर्वनै पोखराको नगर सभापतिबाट राजिनामा दिइसकेका छन् । नतिजा आउनुअघिनै आफ्नो हार स्विकार्दै उनले नगर समिति सभापतिबाट समेत राजिनामा दिएका हुन् । साथै उनले महानगरको प्रमुख र उप प्रमुखमा पार्टीको तर्फबाट उम्मेदवारले राम्रो मत प्राप्त गर्न नसकेको भन्दै नैतिकताको आधारमा राजिनामा दिएको उल्लेख गरेका छन् ।

यसैविच सो वडाको महिला सदस्यमा एमालेकी कृष्ण कुमारी गुरुङ र दलित महिला सदस्यमा कमला विक निर्वाचित भएकी छिन् । गुरुङले २६२९ र विकले २४११ मत सहित जित हात पारेका हुन् । खुल्ला दुई सदस्यमा टंक प्रसाद भट्टराई र रही मुल्ला मिया विजयी भए । भट्टराइले २३४४ र बरालले २१५१ मत ल्याए । एमालेले यसअघि पोखराको १, ५ र ७ नम्बर वडामा प्यानल सहितको जित हात पारेको थियो ।

यो वडामा महानगरको प्रमुख र उप प्रमुखमा ठूलो मत अन्तर देखिएको छ । प्रमुखमा एमालेका मान बहादुर जिसीले २४५१ मत प्राप्त गर्दा कांग्रेसका रामजी कुँवरको पक्षमा १६८० मत मात्रै प्राप्त भएको छ ।