सोमबार पोखरामा आयोजित एक कार्यक्रमका बीच ६७ जना लोकदोहोरी कलाकारहरु नेकपा एमाले समर्थित प्रगतिशिल लोक दोहरी गीत समन्वय समिति तथा राष्ट्रिय जनसाँस्कृतिक महासंघमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस समर्थित नेपाल साँस्कृतिक संघ सम्बद्ध लक्ष्मी सुवेदीको नेतृत्वमा कास्की लगायत प्रदेश नं. ४ का विभिन्न जिल्लाबाट उनीहरु एमाले प्रवेश गरेको महासंघ प्रदेश नं. ४ का सचिव सुवास मल्लले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले प्रदेश नं. ४ का ईञ्चार्ज किरण गुरुङ्गले सय मिनेटको भाषण भन्दा चार मिनेटको गीत शक्तिशाली हुने भन्दै कलाकारहरुको योगदानलाई प्रशंसा गरे । त्यसै गरी सांसद रविन्द्र अधिकारीले संसदको विकास समिति मार्फत कलाकारहरुले सिर्जना वापत पाउने रोयल्टीको ग्यारेन्टी गर्ने काम आफुहरुले अगाडी बढाएको भन्दै नेकपा एमाले कलाकारहरुको पक्षमा रहेको आश्वस्त पारे । कार्यक्रममा नेकपा एमाले प्रदेश सह ईञ्चार्ज गणेश तिमिल्सिना, सांसद सीता गिरी ओली, नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागी, महासंघ प्रदेश नं. ४ का ईञ्चार्ज मनकुमार श्रेष्ठ, वरिष्ठ लोक दोहोरी कलाकारहरु प्रजापति पराजुली र पुरुषोत्तम न्यौपाने लगायतले बोलेका थिए ।
कार्यक्रममा कलाकारहरुले ‘आयो एमाले’ बोलको चुनावी गीत पनि सार्वजनिक गरेका छन् । जीवन दाहाल र नारायण बाँस्तोलाको रचना रहेको सो गीतमा जीवन दाहाल, सुरेन्द्र गुरुङ्ग, कृष्ण गुरुङ्ग, लक्ष्मी नेपाली लगायतका कलाकारहरुको स्वर रहेको छ । साथै कार्यक्रममा महासंघ प्रदेश नं. ४ ले प्रकाशन गरेको भित्ते पात्रो पनि विमोचन भएको भित्ते पात्रो प्रकाशन समितिका संयोजक लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।
कार्यक्रममा कलाकारहरु कृष्ण गुरुङ्ग, लक्ष्मी नेपाली, शिवहरी ढुंगाना, टेक क्षेत्री, सविना गुरुङ्ग लगायतका कलाकारहरुले आफ्नो सांगितिक प्र्रस्तुती दिएका थिए भने प्रदेश नं. ४ का विभिन्न जिल्लाहरुबाट करिब ४०० कलाकारहरुले सहभागिता जनाएका थिए ।
कार्यक्रम समितिका प्रदेश नं. ४ का अध्यक्ष जीवन दाहालको अध्यक्षता तथा महासंघ कास्कीका अध्यक्ष कृष्ण भण्डारीको सञ्चालना सम्पन्न भएको थियो ।
Leave a Reply