एक लाख पुरस्कारको लोक नृत्य प्रतियोगिता

पोखरा, १ मंसिर । नेपालका विभिन्न क्षेत्रमा नाचिने सामूहिक लोक नृत्यहरुको प्रतियोगिता हुने भएको छ । अनुशिलन कला पाठशालाको आयोजनामा ‘लोक मञ्च’ नाम दिएर पोखरामा यस्तो प्रतियोगिता हुन भएको हो ।
अनुशिलन कला पाठशालाले मंगलबार पोखरामा गरेको पत्रकार सम्मेलनमा यति ठूलो सामूहिक लोक नृत्य प्रतियोगिता नेपालमै पहिलोपटक हुन लागेको दाबी गरेको छ । प्रतियोगिताको लागि आवेदन आह्वान गरिएकोमा अहिलेसम्म २६ समूह दर्ता भएको अनुशिलन कला पाठशालाका प्रमुख गोरे गुरुङले जानकारी दिए । यो संख्या अझै बढ्ने अनुमान छ ।
प्रतियोगितामा प्रथम हुने नृत्य समूहले १ लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । तीन वटा समूहलाई सान्तवना पुरस्कार स्वरुप १०÷१० हजार रुपैयाँ दिईने प्रमुख गुरुङले बताए । उनका अनुसार प्रतियोगिताभर एक जना सर्वोत्कृष्ट नृत्य निर्देशकलाई यामाहा स्कुटर पुरस्कार दिइनेछ । प्रतियोगिताका लागि १५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
एसएमएस भोटिङमार्फत बिजेता छनौट गरिने चलनले असली क्षमता भएका प्रतियोगिता बाहिरने भएकाले यो प्रतियोगितामा भोटिङ हुनेछैन । ‘भोटिङ सिस्टमले पक्का कलाकार बाहिरने भएकाले हामीले यो प्रकृया नअपनाएका हौँ’ प्रतियोगिताका सँयोजक गोरे गुरुङले भने–‘यसका लागि सात प्रदेशका लोक नृत्यका विज्ञहरुलाई निर्णायकको रुपमा राखेका छौं ।’
प्रतियोगितामा नेपालको पुर्व देखि पश्चिमसम्मका विभिन्न जातजातिका लोकनृत्यहरु सहभागी हुनेछन् । पोखरा बाहिरका प्रतियोगीको लागि आयोजकले भिडियोमार्फत अडिसन लिने तयारी समेत गरेको छ । पहिलो चरणको अडिसन मंसिर १७ गते हुनेछ भने फाईनल पुस २ गते पोखरा सभागृहमा हुनेछ । पोखरा बाहिरका सहभागीले लेकसाइडको एक होटलमा खाने बस्ने व्यवस्था आयोजकले गरेको छ भने पोखराका सहभागीलाई निःशुल्क खाजाको व्यवस्था गरिएको छ । यस्ता प्रतियोगिताहरुमा सहभागीलाई निःशुल्क खाना, बस्न र खाजाको व्यवस्था गरेको यो पहिलो पटक हो । प्रतियोगि समूहले दुई हजार पाँच सय प्रवेश शुल्क तिर्नुपर्नेछ भने समूहमा बढी १६ जनासम्म सहभागी हुन सक्नेछन् ।