उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले तिहार, छठ एवम् नेपाल संवत् ११३९ को अवसरमा शुभकामना आदन प्रदान तथा जलपान समारोहको आयोजना हुने भएको छ । कात्तिक १६ गते अपरान्ह साढे २ बजे उपराष्ट्रपतिको कार्यालय, बहादुर भवनमा शुभकामना आदन प्रदान तथा जलपान समारोह आयोजना गरिएको छ ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायधीश ओमप्रकाश मिश्र, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीना लगायत उच्च पदाधिकारीहरु सहभागी हुुनेछन् ।
समारोहमा पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति हुने उपराष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।
प्रत्येक वर्षको तिहार, छठ तथा नेपाल संवत्को अवसर पारेर उपराष्ट्रपतिले जलपान समारोहको आयोजना गर्ने प्रचलन छ ।