आदिवासी जनजाति महासंघ कास्की अध्यक्षमा धर्म गुरुङ

टुडे पोखरा संवाददाता
0Shares

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीको अध्यक्षमा धर्मबहादुर गुरुङ निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न छैठौं जिल्ला अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रमबाट उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः हरिमान थिङ तामाङ, बमबहादुर घरब्जा छन्त्याल, प्रेम चोङबाङ लिम्बू र बुद्धिमाया थापामगर सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरी, समन्वय परिषद्का सदस्यहरूमा सु. तेजबहादुर Þयोल्मो, राजन कुमाल, अम्बर तुलाचन, मनबहादुर भुजेल, दीर्घसिंह लालचन, क्षेत्रबहादुर थकाली, नवराज दुरा, फुर्वा छिरिङ ताङ्वे, जुनाकुमारी गुरुङ र अशीलाल थारू रहेका छन्। यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद्का उपाध्यक्ष एवं चार नम्बर प्रदेशका इञ्चार्ज गणेशलाल थकालीले आदिवासी जनजातिका अधिकार पूर्ण रूपमा अझै प्राप्त नभएको उल्लेख गर्नुभयो । ‘हाम्रा अधिकार अझै पनि पूर्ण भएका छैनन्’, थकालीले भन्नुभयो, ‘संविधान संशोधन गरी आदिवासी जनजातिलगायतका उत्पीडित समुदायका माग सम्बोधन गरिनुपर्दछ ।’
विभिन्न खालका प्रलोभन देखाएर आदिवासी जनजाति समुदायलाई राज्यले भुलभुलैयामा पारेको भन्दै थकालीले पूर्ण अधिकार प्राप्तिका लागि पुनः अर्को आन्दोलनको आवश्यकता औंल्याउनुभयो । ‘हाम्रो आन्दोलनको औचित्य अझै सकिएको छैन’, थकालीले भन्नुभयो, ‘अझै पनि अधिकार दिनबाट वञ्चित गरिएको छ, आवश्यक परे फेरि आन्दोलनका लागि तयार रहनुपर्दछ ।’

इतिहासविद् डा. गेहेन्द्रमान उदास ‘पोखरेली’ले विगतदेखि नै राज्यले आदिवासी जनजातिलाई प्रलोभन मात्रै देखाएको आरोप लगाउनुभयो । ‘विगतदेखि नै राज्य र राजनैतिक दलहरूले आदिवासी जनजातिलाई प्रलोभन मात्रै देखाए’, डा. उदासले भन्नुभयो, ‘हामी प्रलोभनमा फस्दै आयौं, अब निद्राबाट ब्यूँझनु आवश्यक छ ।’
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका निवर्तमान अध्यक्ष पानबहादुर घर्ती भुजेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव पूर्ण Þयोल्मो र उपाध्यक्ष पूर्णबहादुर रानामगरले स्वागत गरेका थिए।